काठमाडौं । होटल भादगाउँ एण्ड रिर्सोटले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।
होटलले व्यवसाय विस्तार तथा स्तरोन्नतिको लक्ष्यसहित सर्वसाधारणलाई लक्षित गरी १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । यसबाट १५ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ ।
यस सन्दर्भमा आयोजित एक औपचारिक कार्यक्रममा होटलका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सन् २०२१ मा स्थापना भएको होटल भादगाउँ भक्तपुरको युनेस्को सूचीमा सूचीकृत पुरातात्विक क्षेत्रको मुटुमा अवस्थित छ । नेवारी वास्तुकला र सांस्कृतिक धरोहरलाई झल्काउने शैलीमा निर्माण भएको यो होटलले हाल ४० वटा सुविधा सम्पन्न कोठाबाट आतिथ्य सेवा दिँदै आएको छ।
आईपीओमार्फत संकलित पूँजीबाट होटलले १०० वटा नयाँ कोठा, स्पा, फिटनेस सेन्टर, भूमिगत पार्किङ्ग, बाह्य बगैँचा, सेमिनार हल, कन्फरेन्स सुविधा र डेस्टिनेशन वेडिङ्ग स्थल निर्माण गर्ने योजना अघि सारेको छ ।
होटलका प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार प्रस्तावित विस्तारले स्थानीय रोजगारी सिर्जनासँगै भक्तपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।