तार्केश्वर नगरपालिका-११ का अध्यक्ष बस्नेतसहित ११ जना पक्राउ

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । शहरी विकास प्राधिकरणद्वारा खोलाको करिडोर विस्तारको क्रममा उत्पन्न विवादका कारण उनीहरू पक्राउमा परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार, एक झडप घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा ११ जनालाई पक्राउ गरिएको हो । घटना काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर नगरपालिका–११ को सिमानामा पर्छ ।

शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तारका लागि टेन्डरमार्फत निर्माण कार्य अघि बढाएको थियो । तर, सिमाना विवाद कायमै रहेको क्षेत्रमै काम गरिन थालेपछि गत असार २३ गते दुई पक्षबीच झडप भएको थियो ।

झडपमा एक व्यक्तिको टाउकोमा चोट लागेपछि पीडितले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए । सो उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र पक्राउ प्रक्रिया थालिएको प्रहरीको भनाइ छ ।

एसपी चन्दका अनुसार, घटनासम्बन्धी १३ जनाविरुद्ध जाहेरी परेको भए पनि दुई जनाको ठेगाना यकिन हुन नसकेका कारण पक्राउ प्रक्रिया अघि बढ्न सकेको छैन । बाँकी ११ जना भने हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।

घटनाको अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अनुसार अगाडि बढाइने प्रहरीले जनाएको छ ।

Share News