एनटीसीले बिलिङको ठेक्का प्रतिबन्धित कम्पनीलाई दिन लागेपछि अख्तियारमा उजुरी, अनियमितताको आशंका

काठमाडौं । नेपाल टेलिकमले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा फेरि अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । टेलिकमले खरिद गर्न लागेको नयाँ बिलिङ प्रणालीसम्बन्धी बोलपत्रमा सीमित विवादित र प्रतिबन्धित कम्पनीलाई ठेक्का दिने तयारी भइरहेको भन्दै आयोगमा उजुरी परेको हो । अधिवक्ता विक्रम थापाले उजुरी दर्ता गरेका छन् ।

उनले टेलिकमको बिलिङ प्रणाली सधैं विवादित रही आएको र अहिले पनि आह्वान गरेको रियल टाइम बिलिङ प्रणालीको अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेर चिनियाँ विवादित कम्पनी हुवावेलाई ठेक्का दिने अन्तिम तयारी रहेको उल्लेख गर्दै उजुरी दर्ता गराएका हुन् । 

उनले उजुरीमा अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ कम्पनी हुवावेलाई ठेक्का दिन लागेको उल्लेख गरेका हुन् । यसलेसार्वजनिक खरिद ऐनको उल्लंघन मात्र नभई राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशीलतामा समेत गम्भीर प्रश्न उठाएको उल्लेख उनले उजुरी पत्रमा गरेका छन् । 

उनले टेलिकमले बिलिङ प्रणाली र नेटवर्क प्रणाली एउटै कम्पनीमार्फत लिएको पनि उल्लेख गरेका छन् ।  जसले स्वार्थको द्वन्द्व हुने बताएका छन् । अन्तर्राष्ट्रिय अभ्यासअनुसार यी दुई प्रणालीका आपूर्तिकर्ता अलग हुनुपर्छ । त्यसले पारदर्शिता र स्वतन्त्र मूल्याङ्कन सुनिश्चित हुने वातावरण सिर्जना हुन्छ । 

टेण्डरको अत्यन्त आवश्यक मानिएको बिलिङ प्रणालीको  लोड ब्यालेन्स र रिक्वायरमेन्ट मागिएता पनि हुवावेले सफ्टवेरमात्रै पेस गरेको उजुरीमा उल्लेख छ । 

नेपाल टेलिकमजस्तो रणनीतिक संस्थाले सूचनाको सुरक्षा, सार्वजनिक सम्पत्तिको सदुपयोग र प्रविधिको पारदर्शी खरिद प्रक्रिया सुनिश्चित गर्नुपर्नेमा यस घटनाले गम्भीर सवाल उठाइरहेको छ । 
 

Share News