काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले यस वर्षको ‘नाडा अटो शो २०२५’ लाई प्रविधि र नवीनतामा केन्द्रित गर्ने घोषणा गरेको छ ।
बुधबार आयोजित एक पत्रकार सम्मेलनमा आयोजकले नेपालमा पहिलो पटक ‘फ्लाइङ ट्याक्सी’ (ईभीटीओएल) र अत्याधुनिक रोबोटहरू प्रदर्शन गरिने जानकारी दिएको हो । शोमा ५० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुनेछन् ।
‘गो फर मोर’ नाराका साथ आयोजना हुन लागेको यस पटकको प्रदर्शनीको औपचारिक उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
नाडाका अध्यक्ष करण चौधरीले यस वर्षको नाडा अटो शो प्रदर्शनी नभएर भविष्यको अटोमोबाइल क्षेत्रको झलक दिने महोत्सव हुने बताए ।
‘नाडा आफ्नो स्वर्ण जयन्तीको संघारमा छ। यो केवल एउटा प्रदर्शनी होइन, सम्पूर्ण अटोमोबाइल क्षेत्रको चाड हो । यसपटक हामीले ‘इनोभेसन र टेक्नोलोजी’ लाई केन्द्रमा राखेका छौं, जहाँ आगन्तुकले भविष्यको सवारी अनुभव गर्न पाउनेछन्,’ अध्यक्ष चौधरीले भने ।
उनका अनुसार ३ लाख स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा आयोजना हुने यो शोले नयाँ मानक स्थापना गर्नेछ ।
शोको मुख्य आकर्षणको रूपमा मुख्य प्रायोजक एमएडब्ल्यू वृद्धिले चाङ्गानको (चार खुट्टे) रोबोट 'युनिट्री रोबोट' र भविष्यको सहरी हवाई यातायातको नमूनाको रूपमा 'दीपल ईभीटीओएल युएभी’ (उड्ने गाडी) को प्रदर्शन गर्नेछ ।
नाडाका अध्यक्ष चौधरीले नेपालमा फ्लाइङ ट्याक्सीसम्बन्धी नीति नभए पनि यस प्रदर्शनीले नीति निर्माणका लागि बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
एमएडब्ल्यूका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘हामी नाडा अटो शोको मुख्य प्रायोजक हुन पाउँदा उत्साहित छौं । यस शोमा ५० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुँदैछन्, जसमा एमएडब्ल्यूले मात्र ७ वटा नयाँ उत्पादन लन्च गर्नेछ ।’

नाडा अटो शो २०२५ मा ९० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरू र १२२ भन्दा बढी स्टलहरू रहने जनाइएको छ । जसमा १९ वटा चार पाङ्ग्रे ब्रान्ड, १४ वटा हल्का व्यावसायिक गाडी ब्रान्ड २४ वटा दुई पाङ्ग्रे ब्रान्ड, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्था गरी ३५ कम्पनीहरू कूल ३ लाख वर्ग फिट क्षेत्रफलमा फैलिने यो प्रदर्शनी नेपालमा आजसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनी हुने नाडाले दाबी गरेको छ ।
कार्यक्रममा सह-प्रायोजक शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेले विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै नयाँ बीमा योजनाको आवश्यकता रहेको बताउँदै नाडासँग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

टिकटिङ पार्टनर खल्तीकी प्रतिनिधि पूजा धामीले आगन्तुकहरूको सहजताका लागि डिजिटल टिकटिङको व्यवस्था गरिएको र ‘अर्ली बर्ड’ टिकटमा २० प्रतिशत छुट दिइने घोषणा गरिन् ।
यस वर्षको शोको संरचनामा पनि नवीनता ल्याइएको छ । शोको सुरुवातमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्न मेड इन नेपाल पेभिलियन राखिनेछ ।
साथै भिन्टेज कार प्रदर्शनी, अन्तर्राष्ट्रिय व्यापार पेभिलियन र मिडियाकर्मीका लागि विशेष सुविधासहितको मिडिया डेस्कको व्यवस्था गरिएको छ ।
शोमा फोर-ह्विलरका १९, लाइट कमर्सियल भेइकलका १४, र टु-ह्विलरका १० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ ।
दृष्टिविहीन पत्रकारको सुझावलाई सम्बोधन गर्दै उनले विद्युतीय गाडीको आवाज बढाएर सबैका लागि सुरक्षित बनाउने विषयलाई नाडाको अटो डायलगमा प्रमुखताका साथ उठाइने प्रतिबद्धता जनाए । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा प्रतिष्ठित र प्रतीक्षित मेला ’नाडा अटो शो’ को १७ औं संस्करण आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ।