काठमाडौं । कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको छ ।
बोर्ड स्रोतका अनुसार आइतबार डेमो (पूर्वअभ्यास) सफलतापूर्वक सम्पन्न भइसकेकाले अब नतिजा सार्वजनिकको अन्तिम चरणमा पुगेको छ । 'आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ,' बोर्ड स्रोतले भनेकाे छ ।
परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको कार्यतालिका अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक गरिसक्नु पर्ने थियो । तर, गत चैत २० गतेदेखि शुरू भएको शिक्षकमहासंघको आन्दोलनका कारण परीक्षा तालिका प्रभावित हुँदा नतिजा प्रकाशित गर्न ढिलाइ भएको हो ।
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट हुने तय भए पनि आन्दोलनका कारण १० दिन ढिलो गर्दै वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा २९ वैशाखसम्म सञ्चालन भएको थियो । सो परीक्षामा देशभरबाट जम्मा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।