नेपाल भित्रियो जीलीको ईएक्स फाइभ ईभी, ब्याट्रीमा आठ वर्ष वारेन्टी

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडेलहरू भित्रिने क्रम जारी छ । नयाँनयाँ मोडेलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबीचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ । 

यसैबीच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जीली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली इएक्स फाइभ सिरिज नेपाल भित्रिएको छ ।  

एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जीलीका २ मोडेल जिली इएक्स फाइभ प्रो र जीली इएक्स फाइभ म्याक्स नेपाल भित्राएको हो।

नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडेलको भन्दा यी मोडेलहरूको अलिक बढी नै प्रतिस्पर्धा गर्नसक्ने देखिनछ । यी मोडेलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।  

यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ। 

गाडी निर्माता जीली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित यस ब्याट्रीको आयू ३ हजार ५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्षसम्म प्रयोग गर्न मिल्ने) रहेको छ, जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै अधिक रहेको कम्पनीको दावी छ ।

साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्सले जीलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमिसम्म वारेन्टीसमेत दिने जनाएको छ ।

यी दुवै मोडेलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ ।

यसमा सीएलटीसी परीक्षणअनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ ।

जीली इएक्स फाइभ म्याक्सको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् ।

आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ । 

यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् । 

साथै जिलीले आफ्नै विकसित फ्लाइमी अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ। 

दुवै मोडलमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । 

नेपाली बजारका लागि ईएक्स फाइभ प्रोको मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ । 

कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाएको छ।  

नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीहरूमा जीलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्ने विश्वास कम्पनीको छ ।

Share News