काठमाडौं । ‘संकटले अवसरको ढोका पनि खोल्छ ।’ जन जिब्रोमा सुनिने भनाइ हो यो । नेबिको कम्पनीमा पनि यस्तै परिस्थिति आयो । २०२१ सालमा स्थापित नेबिको बिस्कुटमा विसं २०७८ साउनमा वज्रपात पर्यो आगलागीबाट देशकै पुरानो बिस्कुट उद्योग खरानीमा परिणत भयो ।
उद्योगको संरचना खरानी बनेपछि कम्पनी थला पर्यो । माथि उठ्नै सकस भयो । बीमामा गडबडी भयो । आगलागीपछि २५ करोड रुपैयाँभन्दा बढीको क्षतिपूर्तिका लागि बीमा दावी परेको थियो । तर, बीमा कम्पनीले १० करोड मात्रै भुक्तानी गर्यो ।
‘बीमा गराउने बेलामा पनि सुझबुझ पुगेन छ । पुन: मूल्याङ्कनसहित भवनको बीमा हुनुपर्नेमा कम्पनी चुकेछ । दाबी भुक्तानीमा बीमा कम्पनीले समेत सहजीकरण गरेन । अढाई वर्षमा बल्ल १० करोड भुक्तानी पायौं,' कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) होम न्यौपानेले भने ।
‘बीमा दावीको ४० प्रतिशत मात्र भुक्तानी भयो । चुक्ता पुँजी २० करोड रुपैयाँ मात्रै । बैंकको ऋण ४८ करोड रुपैयाँ थियो । थप ऋण लिएर कम्पनीलाई पुरानै अवस्थामा फर्काउने सहज वातावरण नै भएन,’ उनले भने ।
‘अब लगानीकर्ताहरूलाई चिन्ता लाग्न थाल्यो । ६ दशकदेखिको नेबिको ब्राण्ड ढल्छ कि भन्ने पनि भयो,’ सीईओ) न्यौपानेले भने, ‘त्यसपछि कम्पनीले रणनीति फेर्यो, नयाँ लगानीकर्ता थप्ने निर्णयमा पुग्यो ।’
कम्पनीले पुँजी वृद्धि गरेर एक अर्ब रुपैयाँ बनाउने निर्णय गर्यो । अहिले कम्पनीमा संस्थापन लगानीकर्ता थपिँदै गएका छन् ।
‘चुक्ता पुँजी २० कराेड रुपैयाँ हुँदासम्म २७ जना सेयरधनी थिए । सेयरधनी थपिएर ४०६ जना भएका छन् । ७० करोड पुँजी जुटेको छ । थप १० करोड रुपैयाँ संस्थापकबाट जुटाउँदै छौं । त्यसपछि २० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्नेछौँ,’ उनले भने ।
‘यही आर्थिक वर्षभित्रमा आईपीओमा जाने योजना छ । असोजमा वार्षिक साधारणसभा गरेर रेटिङमा जाने योजना छ । सबै काम भएपछि माघसम्ममा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा फाइल दर्ता गर्ने योजना छ,’ नेबिको बिस्कुटका कम्पनीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।
अब नेबिकोमा व्यक्तिगत सँगै संस्थागत लगानीकर्ता पनि जोडिएका छन् । ‘नेबिकोमा इन्भेस्टमेन्ट कम्पनीहरू पनि जोडिएका छन् । सबैभन्दा ठूलो लगानीकर्ताले ८ लाख कित्ता सेयर किनेको छ,’ उनले भने, 'नेबिकोको सेयर अंकित मूल्य ५० रुपैयाँ रहेको छ । ठूलो लगानीकर्ताले ४ करोड रुपैयाँसम्म लगानी गरेका छन् ।'
कम्पनीले कच्चा पदार्थ सप्लायर्स, डिलर कम्पनी, बिक्री वितरण कम्पनीलाई लगानीको अवसर दिइएको छ । चार पुस्ताले स्वाद लिएको छ नेबिकोको । छ दशकदेखि सबैको घरघरमा पुगेको छ । बिस्कुट बजारमा नम्बर वान बनेको कम्पनी हो । यस्तो लगानी गर्ने सबैको रहर हुन्छ । ‘धेरैले चासो दिनु भएको छ,’ न्यौपानेले भने ।
आईपीओसहित एक अर्ब रुपैयाँको कम्पनी बनाएपछि कम्पनीलाई पुँजीको अभाव नहुने उनको भनाइ छ ।