भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने,  २ अर्ब डलरको लगानी योजना

काठमाडौं । भियतनामी विद्युत् सवारीसाधन (ईभी) निर्माता भिनफास्ट हाल भारतमा थप उत्पादन सामग्रीहरू स्थानीय रूपमा प्राप्त गर्न विभिन्न कम्पोनेन्ट निर्माता कम्पनीहरूसँग वार्तामा रहेको छ । यो जानकारी कम्पनीका एसिया क्षेत्रका प्रमुख कार्यकारी अधिकारी फाम सन्ह चाउले सोमबार दिएका हुन् ।

भारतको दक्षिणी सहर थूत्तुकुडीमा भएको नयाँ कारखाना उद्घाटनका अवसरमा रोयटर्ससँग कुरा गर्दै चाउले भने, ‘हामी हाम्रै केही पुराना सप्लायर्सहरूसँग कुराकानी गरिरहेका छौं, तीमध्ये केहीले आफ्नो उत्पादन भारतको औद्योगिक पार्कमा सार्न चाहेका छन् ।’

विश्वव्यापी निर्माण कम्पनीहरू चीनमा बढ्दो भू-राजनीतिक तनाव, व्यापार प्रतिबन्ध र लागतको कारणले वैकल्पिक उत्पादन स्थलको खोजीमा छन् र भारत विकल्पको रूपमा अगाडि आइरहेको छ ।

‘हामीसँग भियतनामकै एक प्लास्टिक उत्पादन कम्पनीबाट पनि सोधपुछ आएको छ, जसले आफ्नो उत्पादन भारतमा सारेर हाम्रो कार उत्पादनलाई सहयोग गर्न चाहन्छ, उनले भने । तर उनले ती कम्पनीहरूको नाम खुलाएका छैनन् ।

भिनफास्टले यो महिना भारतका सोरूमहरूमा कारहरू उतार्ने योजना बनाएको छ । मूल्य र खास सार्वजनिक मिति भने हालसम्म खुलाइएको छैन ।

गत वर्ष भिनफास्ट र भारतको तमिलनाडु राज्यबीच २ अर्ब डलरसम्मको लगानीका लागि सहमति भएको थियो, जसमा पहिलो पाँच वर्षभित्र ५० करोड डलर लगानी गर्ने योजना छ । उक्त प्लान्टले वार्षिक रूपमा १ लाख ५० हजारवटा गाडी उत्पादन गर्न सक्ने अनुमान गरिएको छ ।

चाउले भनेअनुसार भारतस्थित उक्त प्लान्टले श्रीलङ्का, नेपाल र मौरिससबाट अर्डर प्राप्त गरिसकेको छ । यी सुरुवाती अन्तर्राष्ट्रिय अर्डरहरूकै कारण भारतको प्लान्ट निर्यातमुखी उत्पादन केन्द्र बन्ने दिशामा अग्रसर छ । तर हालको ध्यान भारतकै उपभोक्ताको माग पुरा गर्नेमा केन्द्रित रहने उनले बताए ।

भिनफास्टले सन् २०२५ मा २ लाख कार विश्वव्यापी रूपमा आपूर्ति गर्ने लक्ष्य राखेको छ । कम्पनीले यस वर्षको पहिलो छ महिनामा ७२ हजार १०० युनिट गाडी बिक्री गरिसकेको छ, जुन मुख्यतः भियतनाममै भएको हो ।

भिनफास्टको स्थापना २०१७ मा भिनग्रुपले गरेको हो । यसको संस्थापक र मुख्य लगानीकर्ता फाम न्हाट भुओङ हुन्, जो भिनग्रुपका अध्यक्ष र भियतनामका धनाढ्य व्यक्ति हुन् । फाम न्हाट भुओङ र भिनग्रुपले भिनफास्टमा हालसम्म १७ अर्ब लगानी गरिसकेका छन्।

गाडीको पहिलो कारखाना हाई फोङ्ग नजिक क्याट हाई टापुमा बनाइएको थियो ।

Share News