काठमाडौं । दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी एस–०७ आईसीए सार्वजनिक गरेको छ । कम्पनीले ‘५ वर्षे शून्य ओनरशिप कस्ट’ को अभूतपूर्व योजनासहित गाडी सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार ग्राहकले ५ वर्षसम्म गाडीको स्वामित्वसँग सम्बन्धित कुनै पनि खर्च बेहोर्नु पर्दैन ।
यो योजनाअन्तर्गत ५ वर्षको अवधिका लागि सवारी बीमा, सडक कर, आवधिक मर्मतसम्भार र चार्जिङका लागि आवश्यक बिजुलीसमेत निःशुल्क उपलब्ध गराइने प्रबन्ध निर्देशक सिकारियाले जानकारी दिए ।
‘नयाँ दिपल एस-०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो,’ सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ इभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’

यो अफरले ग्राहकलाई खरिदपछिको खर्चको चिन्ताबाट पूर्ण रूपमा मुक्त गराउने उनको दाबी छ ।
गाडीमा (लिथियम आइरन फस्फोट) एलएफपी ब्याट्री राखिएको छ । यसअघि गाडी एनसीएम ब्याट्रीमा मात्र उपलब्ध थियो ।
सिकारियाले दीपलले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति जनाएको र ग्राहकको विश्वास जित्न सफल भएको बताए ।
कार्यक्रममा ब्राण्ड एम्बेसडर पारस खड्काले यो गाडी चलाउँदाको आफ्नो अनुभव सुनाएका थिए ।
याे गाडी ‘निबोला ब्लू’ रङमा उपलब्ध छ ।

सार्वजनिक गाडीमा ६८.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक जडान गरिएको छ । जसले डब्लुएलटीपी मापदण्डअनुसार एक पटकको फुल चार्जमा ४१० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।
यसअघि बजारमा उपलब्ध एलएफपी ब्याट्रीयुक्त संस्करणमा ६६.८ किलोवाट–आवरको ब्याट्री थियो र त्यसको रेन्ज पनि समान ४१० किलोमिटर नै थियो । ब्याट्री प्रविधि र रङको विकल्पबाहेक गाडीको डिजाइन, फिचर र अन्य प्राविधिक पक्षमा कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एस–०७ फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक फिचरका कारण नेपाली बजारमा स्थापित भइसकेको मोडल हो । कुपे–स्टाइल बनावट, फ्रेमलेस ढोका, २० इन्चको टायर, र क्वालकम स्न्यापड्रागन ८१५५ चिपसेटयुक्त १५.६ इन्चको विशाल सनफ्लावर टचस्क्रिन यसका मुख्य आकर्षण हुन् ।
साथै एडीएएस २.५, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, ३६०–डिग्री क्यामेरा र एक्टिभ इमर्जेन्सी ब्रेकिङजस्ता सुरक्षा फिचरले यसलाई आफ्नो सेग्मेन्टमा अब्बल बनाएको छ ।
गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
‘शून्य ओनरशिप कस्ट’ योजना
यो योजनाले ग्राहकलाई गाडी खरिदपछिको ५ वर्षसम्म आर्थिक भारबाट पूर्ण रूपमा मुक्त गर्ने लक्ष्य राखेको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधाहरू दिएको छ । जसमा ५ वर्षको पूर्ण बीमा (अटोप्लस), ५ वर्षको वार्षिक सवारी कर, ५ वर्षको निःशुल्क सर्भिसिङ र आवश्यक पार्टपुर्जा, ५ वर्षसम्म गाडी चार्ज गर्न लाग्ने बिजुलीको खर्च समेत दिएको छ ।
यसका साथै कम्पनीले ५ वर्षसम्म गाडी चार्ज गर्दा लाग्ने इन्धन (बिजुली) को खर्चसमेत तिरिदिने घोषणा गरेको छ । कम्पनीका अनुसार दुर्घटना नभएको खण्डमा ग्राहकले ५ वर्षसम्म गाडीमा एक पैसा पनि खर्च गर्नुपर्ने छैन ।