काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षकको अभाव हुन थालेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हाल नेपाली पढाउने शिक्षकहरु प्रशस्त रहेपनि अंग्रेजी र गणित विषय पढाउने शिक्षकहरु नपाउने अवस्था सिर्जना भएको बताए । सीपयुक्त जनशक्ति नेपालमा अभाव हुँदै जाँदा विदेशबाट श्रमीकहरु आएर उद्योग कलकारखानामा काम गर्ने गरेको बताए ।
तालिम दिने संस्थाहरु नेपालमा धेरै नै भएपनि तालिम प्रभावकारी नभएको उनको भनाई छ । ती संस्थाहरुले कति मान्छेहरुले तालिम लिए भन्ने तथ्यांक पनि राख्न नसकेको उनले बताए ।
खेलकुदमन्त्री चौधरीले तालिम दिने संस्थाहरुलाई केही समय आफ्नै संस्थामा प्रयोगात्मक प्रशिक्षण गर्न लगाउन पनि आग्रह गरे । सीपयुक्त जनशक्ति नहुँदा रोजगारी समेत समस्या भएको उनले जानकारी दिए ।
मन्त्री चौधरीले भने,‘युवाहरु धेरै विदेश पलायन भएपनि स्किल मेनपावर पुग्न सकेन, हाम्रो देशमा तालिम दिने थुप्रै संघसंस्थाहरु छ, तालिम दिने तर स्किल मेनपावर हामीले अझै पुरा गर्न सकेनौ । हामी तालिम दिन्छौ, त्यो तालिम दिईसकेपछि त्यो के गरिरहेको छ भन्ने कुराहरु, अहिलेसम्म हामीसँग डाटा पनि छैन ।’
खेलकुदमन्त्री चौधरीले सरकारले युवालाई स्वरोजगार बन्नको लागि ३ देखि ५ लाख रुपैयाँसम्म ऋण दिने तयारी गरेको पनि बताए ।