बीवाईडी पहिलोपटक फोर्च्युन ग्लोबल १०० भित्र, ९१औं स्थानमा प्रवेश

काठमाडौं । चिनियाँ अटो कम्पनी बीवाईडी सन् २०२५ का लागि सार्वजनिक फोर्च्युन ग्लोबल ५०० सूचीमा ९१औं स्थानमा उक्लिन सफल भएको छ । अघिल्लो वर्ष १४३औं स्थानमा रहेको बीवाईडी यसपटक पहिलोपटक शीर्ष १०० मा प्रवेश गर्न सफल भएको हो । 

सन् २०२२ देखि लगातार फोर्च्युनको सूचीमा पर्दै आएको बीवाईडीका लागि यो ऐतिहासिक उपलब्धि बनेको छ । गत वर्ष बीवाईडीले चार प्रमुख उद्योगको कारोबारमा उल्लेखनीय वृद्धि गर्दै ७ खर्ब ७७ अर्ब चिनियाँ युआन ९९१४ खर्ब रुपैयाँ० आम्दानी हासिल गर्यो, जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढी हो ।

न्यू इनर्जी भेहिकल क्षेत्रमा बीवाईडीले नयाँ कीर्तिमान स्थापित गर्दै ४२ लाख ७० हजार युनिट बिक्री गर्यो, जुन ४१ प्रतिशतको वार्षिक वृद्धि हो । यही द्रुत व्यापारिक वृद्धिका कारण कम्पनीले तेस्रो वर्ष लगातार विश्वकै सर्वाधिक बिक्री गर्ने कम्पनीको उपाधि रक्षा गरेको छ।

बीवाईडीका अनुसार यस्तो प्रगति प्रविधिमा आधारित इनोभेसन र आरएन्डडी मा गरिएको लगानीका कारण सम्भव भएको हो । सन् २०२४ मा कम्पनीले ५४ अर्ब २० करोड युआन अनुसन्धान तथा विकासमा खर्च गर्यो, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत बढी हो । बीवाईडीले उत्पादन गरेको ब्लेड ब्याट्री, ड्युफा इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम र मेगावाट फास्ट चार्जिङजस्ता प्रविधिहरू त्यही लगानीको उपज हुन् ।

बीवाईडीले सन् २०२५ लाई ग्लोबलाइजेसन र लोकलाइजेसन विस्तारको वर्ष बनाउँदै १ करोड ३० लाख युनिट सवारी उत्पादन गर्ने महत्त्वपूर्ण उपलब्धि पनि हासिल गर्यो । चीनबाहिर मात्र ४ लाख ७० हजार युनिट पेसेन्जर भेहिकल र पिकअप ट्रक बिक्री भएका छन् । कम्पनीले युरोपमा मुख्यालय स्थापना गर्दै हङ्गेरी, ब्राजिल र थाइल्याण्डमा उत्पादन र डेलिभरी प्रक्रिया विस्तार गरिसकेको छ ।

हाल बीवाईडीका न्यू इनर्जी सवारीसाधनहरू ११२ देशमा उपलब्ध छन् । कम्पनीले ‘कुल द अर्थ बाइ १ डिग्री सेल्सियस’ भन्ने दिगो लक्ष्यसहित प्रविधि, नवप्रवर्तन र अन्तर्राष्ट्रिय उपस्थितिमा आधारित रूपमा भविष्यतर्फको यात्रा जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Share News