काठमाडौं । डेडिकेटेड फिडरको पूर्वाधार तयार हुन नसकेपछि भैरहवाको विशेष आर्थिक क्षेत्र(सेज) मा थ्री फेज लाइन जडान गर्ने कार्य शुरु भएको छ । गत वर्षनै सञ्चालनमा ल्याउने भनि सेजको उद्घाटन गरिएपनि हालसम्म ‘डेडिकेटेड फिडरको पूर्वाधार समेत तयार हुन सकेको छैन ।
भैरहवा सेज कार्यालयले फिडर जडान कार्य ढिला हुने देखिएपछि उद्योग सञ्चालन गर्नका लागि थ्री फेज लाइन जडान कार्य शुरू गरेको हो । सेजका लागि छुट्टै ‘डेडिकेटेड फिडर’ चाहिने भए पनि त्यसका लागि समय लाग्ने भएपछि भैरहवा कार्यालयले थ्री फेज लाइन विस्तारको काम अघि बढाएको हो ।
‘डेडिकेटेड फिडरको पूर्वाधार निमार्णमा केही समय लाग्ने भएकाले सेजकै खर्चमा ट्रान्सफर्मर किनेर विद्युत् आपूर्ति गर्न लागिएको सेज विकास समितिका उपसचिव सुन्दर थापाले बताए । ‘डेडिकेटेड फिडर’ जडान नुहँदासम्म उद्योग स्थापना कार्य अघि बढाउन नसक्ने उद्योगीहरूले बताउँदै आएका छन् । उद्योगी राजेश अग्रवालले सेजमा तीनओटा उद्योगका लागि आशयपत्र लिइसकेका छन् । तर, विद्युत्को ‘डेडिकेटेट फिडर’ नआउँदासम्म उनीहरूले आउन नसक्ने बताएको थापाले बताए । दुईपटक सेज कार्यालय उद्घाटन भएपनि उद्योगलाई चाहिने विद्युत्को व्यवस्था हुन भने अहिले सम्म सकेको छैन । त्यसैले उद्योगीहरू विद्युत्को डेडिकेटेड लाइन जडान पछिमात्र आउने देखिएको उनले बताए ।
उद्योगहरूले भने थ्री फेज लाइनले उद्योग नचल्ने बताए पनि थापा भने थ्री फेजको लाइनबाट आवश्यकीय काम गर्न सकिने बताउँछन् । सेजका लागि चाहिने २० देखि ३० मेगावाट विद्युत् स्थानीय स्टेशनबाट सीधै लैजाने कार्यका लागि उद्योग मन्त्रालयको बजेटबाट ७ करोड रुपैयाँ विद्युत् प्राधिकरणलाई दिइसकिएको छ ।
सेजमा २२ ओटा उद्योगले सञ्चालनका लागि आशयपत्र प्राप्त गरेका छन् । समितिसँग सम्झौता भएपछि ती उद्योगले निर्माणको काम थाल्ने विशेष आर्थिक क्षेत्र विकास समितिले बताएको छ । कुल ५२ बिगाहा क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा ६९ ओटा प्टल रहेका छन् । हाल २२ ओटा उद्योगका लागि ६० ओटा प्लट बूक भइसकेको र बाँकीको हकमा नियमअनुसार आपसी सहमतिमा प्रदान गरिनेछ । सेज नियमावली हाल कानुन मन्त्रालयमा छ ।
हाल सेजमा घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीको प्रमुखले हेर्ने गरी दुई जना इञ्जिनीयर, १ जना कम्प्युटर अधिकृत र एक जना सहायक स्तरका कर्मचारी गरी चार जनाबाट काम भइरहेको छ । उद्योगमन्त्री जोशीले यसअघि नै सेजमा एकद्वार नीतिअनुरूप काम गर्ने भनेर उद्योगसँग सम्बन्धित सबै काम सेज कार्यालयबाटै हुने भनेका थिए । सोहीअनुरूप अहिले कर्मचारी खटाएर काम भइरहेको सेज कार्यालयले जानकारी दिएको छ ।