स्मार्ट फुडका रूपमा उदाउँदै कोदो, अर्थतन्त्रको नयाँ सम्भावना बन्न सक्ने

काठमाडौं । दशकौंदेखि उपेक्षित रहँदै आएको कोदो अब फेरि नेपालको कृषि, पोषण र ग्रामीण अर्थतन्त्रको केन्द्रमा आउने संकेत देखिन थालेको छ । अन्तर्राष्ट्रियस्तरमा स्मार्ट फुडको रूपमा मान्यता पाउन थालेपछि नेपालको पहाडी भू-भागमा व्यापक रूपमा उत्पादन हुँदै आएको कोदोले अब बजार, रोजगारी, स्वास्थ्य र आत्मनिर्भरता जस्ता बहुआयामिक फाइदाका ढोका खोल्न थालेको छ । सन् २०२३ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय मिलेट वर्ष घोषणा गरेपछि कोदोप्रतिको चासो झनै बढेको हो ।

नेपाल सरकारले साउन १६ लाई कोदो दिवश मनाउने घोषणा गरिसकेको छ । नेपालमा अझै पनि मकै, धान, गहुँजस्ता अन्नबालीहरूले बजार र नीतिगत प्राथमिकता पाइरहेका छन् । तथापि कोदोको पोषणीय मूल्य, जलवायु प्रतिरोध क्षमता र अर्गानिक खेतीको उपयुक्तताका कारण यसले भविष्यमा नेपाली अर्थतन्त्रमा नयाँ गति ल्याउन सक्ने आधार बनाएको विज्ञहरू बताउँछन् ।

जलवायु परिवर्तन, पोषण संकट र खाद्य सुरक्षाका विषयमा बहस चलिरहेका बेला नेपालको परम्परागत बाली कोदोले अर्थतन्त्रमा नयाँ आशासमेत देखाएको छ । तर सरकारी नीति, प्रविधि र बजार व्यवस्थापनको अभावले यसको उत्पादन र व्यापार सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । 

null

स्मार्ट फुड कोदो

नेपालका पहाडी र मध्यपहाडी क्षेत्रहरूमा परम्परागत रूपमा खाद्यान्नको मुख्य स्रोत रहँदै आएको कोदो पछिल्ला केही दशकमा चामल र गहुँको बढ्दो आयात र उपभोगको कारण ओझेलमा परेको थियो । तथापि जलवायु परिवर्तन, कृषिमा यान्त्रिकीकरणको चाप, माटोमा पोषक तत्वको गिरावट र स्वास्थ्यप्रति बढ्दो सचेतनाले गर्दा कोदोलगायतका परम्परागत अनाजप्रति पुनः चासो बढ्न थालेको बताउँछिन् जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती ।

‘हामीले कोदो बिर्सिसकेको थियौं, अहिले त के गाँउ के सहर ? सबैको रोजाइ कोदाको रोटी र परिकार बनिसकेको छ । बजारमा कोदाेको माग बढेको छ,’ उनले भनिन् । 

स्मार्ट फुड भन्ने अवधारणा स्वास्थ्य, वातावरण र कृषकलाई एकै पटक लाभ पुग्ने खाले अन्न वा खाद्य वस्तुहरूलाई जनाउन प्रयोग गरिन्छ ।  कोदो त्यसकै उत्कृष्ट उदाहरण  हो । डा.उप्रेती भन्छिन् ‘स्वास्थ्यका लागि कोदो ग्लुटेन–फ्री, उच्च फाइबरयुक्त, आइरन, क्याल्सियम, जिंक, प्रोटिन र एन्टिअक्सिडेन्टले भरिएको खाद्यवस्तु हो ।’ 

‘मधुमेह, मोटोपन, उच्च रक्तचाप र पाचनसम्बन्धी समस्यामा कोदो निकै उपयोगी खाद्य पदार्थ मानिन्छ,’ उनी थप्छिन् । 

null

कोदो अत्यन्तै न्यून पानीमा फल्ने र चरम प्रतिकूल मौसम पनि सहन सक्ने अन्न भएको कृषि मन्त्रालयका  सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डित बताउँछिन् । ‘कृषकहरू यसलाई सस्तोमा उत्पादन गर्न सक्छन्, विषादीको खासै आवश्यकता पर्दैन र संरक्षण पनि सजिलो छ,’ उनी भन्छिन् । 

कोदोको उत्पादन प्रतिवर्ष बढ्दो देखिए पनि नेपाली बजारमा आयातको अंश झनै बढेको देखिनुले नेपालमा कोदोको बजार राम्रै रहेको मान्न सकिन्छ ।

उत्पादन र सम्भावना

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार २०७७/७८ मा देशभर करिब १ लाख ९५ हजार मेट्रिक टन कोदो उत्पादन भएको थियो । यस आर्थिक वर्षमा कोदो खेती करिब १ लाख ९७ हजार हेक्टर क्षेत्रफलमा गरिएको मन्त्रालयले जनाएको छ । 

कोदोको उत्पादन प्रतिवर्ष बढ्दो देखिए पनि नेपाली बजारमा आयातको अंश झनै बढेको देखिनुले नेपालमा कोदोको बजार राम्रै रहेको मान्न सकिन्छ । भन्सार विभागको तथ्यांकले आर्थिक वर्ष २०८१/८२ मा नेपालले ८५ करोड रुपैयाँ बराबरको १७ हजार ७ सय ९७ टन कोदो विदेशबाट आयात गरिएको देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा १६ हजार ३५ मेट्रिक टन कोदो आयात भएको देखिन्छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालको आन्तरिक उत्पादन ३ लाख ३९ हजार ४६२ मेट्रिक टन पुगेको बताएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कोदाको उत्पादन ३ लाख ३९ हजार ४६२ मेट्रिक टन पुगेको हो । जुन अघिल्लो वर्ष २०८०/८१ को ३ लाख २६ हजार ४४३ टनभन्दा ३ दशमलव ९ प्रतिशतले बढी हो । 

पछिल्लो समय नेपालमा २ लाख ६७ हजार ७१ हेक्टर जमिनमा कोदो खेती गरिँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलले जनाएको छ । नेपालको मध्य पहाडका सबैजसो जिल्लामा कोदो खेती गरिँदै आएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए ।

null

बजार र मूल्य श्रृंखला

एक किलो कोदोको खुद्रा मूल्य अहिले बजारमा ७० देखि १५० रुपैयाँसम्म रहेको छ । प्रशोधनको किसिम अनुसार नेपालमा अहिले कोदोको पीठो, कोदोको रोटी, कोदोको पफ, कोदोको बियर, कोदोको रक्सी र कोदोको नास्ता उत्पादन गर्ने केही स्टार्टअपहरू पनि सञ्चालनमा छन् ।

काठमाडौं, पोखरा र बुटवलमा कोदोमा आधारित अर्गानिक उत्पादनहरू बिक्रीमा आउन थालेका छन् । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ भन्छन्, ‘आयात प्रतिस्थापनका हिसाबले पनि कोदो लाभदायक बन्न सक्छ ।’

श्रेष्ठ आक्र्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री गर्दै आएका छन् । उनी कोदोको ब्राण्डमा बढी प्राथमिकता दिइरहेका छन् । 

नेपालले वार्षिक रूपमा अर्बौं रुपैयाँ बराबरको चामल र गहुँ आयात गर्दै आएको छ, जसको एक अंश कोदोलाई प्रवर्द्धन गरेर प्रतिस्थापन गर्न सकिन्छ । मुख्यतः भोजपुर, खोटाङ, संखुवासभा, रोल्पा, रुकुम, बागलुङ, गुल्मी, डडेलधुरा, बझाङ, अछामलगायतका जिल्लाहरूमा यसको खेती हुँदै आएको छ । 

तर, कोदाको उत्पादकत्व भने अन्य अनाजको तुलनामा अझै कम छ । प्रवक्ता डा.पण्डित भन्छिन्, ‘प्रति हेक्टरको उत्पादन औसत १ दशमलव २ टन मात्र रहेको छ । प्रविधिको प्रयोग, वैज्ञानिक बीउको पक्षपोषण, भण्डारण प्रविधिमा सुधार गरिएमा कोदोको उत्पादकत्वमा छलाङ ल्याउन सकिन्छ ।’

निर्यातको ढोका खोल्न सक्ने

कोदोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन थालिएसँगै निर्यातको सम्भावना पनि देखिएको छ । भारत, अमेरिका, अस्ट्रेलिया, युरोपेली मुलुकहरूमा ‘ग्लुटेन फ्री’ वा ‘होल ग्रेन’ प्रडक्टको माग उच्च रहेको छ । केही नेपाली कम्पनीहरूले भारत हुँदै कोदोको पीठो र रेडिमेड उत्पादनहरू निर्यात गर्न थालेका छन् ।

तर, निर्यात बढाउन अर्गानिक सर्टिफिकेसन, प्याकेजिङ सुधार, गुणस्तर परीक्षण र स्थायी आपूर्ति प्रणाली आवश्यक पर्ने श्रेष्ठ बताउँछन् । यस्ता पूर्वाधार विकास गर्न सरकार र निजी क्षेत्रको पहल जरुरी देखिने उनको मत रहेको छ ।

हालसम्म कोदो प्रवद्र्धनमा सरकारले उल्लेखनीय कार्यक्रम अगाडि सारेको देखिएको छैन । यद्यपि मिलेट प्रवर्द्धन कार्यक्रमअन्तर्गत केही जिल्लाहरूमा बीउ वितरण, कृषक तालिम र उत्पादन बढाउने पहल गरिएको सूचना अधिकारी जोशीले बताए ।  नेपाल कृषि अनुसन्धान परिषदले पनि जलवायु प्रतिरोधी कोदो जातको अनुसन्धान थालेको छ । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सह-सचिव एवं प्रवक्ता डा. पण्डित भन्छिन्, ‘कोदोजस्ता परम्परागत अन्नहरू भविष्यको खाद्य सुरक्षाको मुख्य आधार बन्न सक्छन् । हामी यसको उत्पादन, बजारीकरण र प्रशोधनलाई प्रवद्र्धन गर्ने योजनामा छौं ।’

कोदो र ग्रामीण अर्थतन्त्र

कोदो उत्पादनमा अधिकांश महिला र साना किसान संलग्न छन् । कोदाेको खेती, प्रशोधन र बजारसम्मको मूल्य श्रृङ्खलाले ग्रामीण क्षेत्रमा आय आर्जन, महिला शशक्तिकरण र लघु उद्यम विकासमा ठूलो भूमिका खेल्न सक्छ ।

उदाहरणका लागि गुल्मीको धुर्कोट गाउँपालिका-५ की सविता कुवँरले पछिल्लो तीन वर्षदेखि कोदोबाट जाँड, ढिँडो, बिस्कुट र खिर बनाएर होमस्टेमा विदेशी पर्यटकलाई खुवाउन थालेकी छिन् । 

‘विदेशीलाई त झनै रमाइलो लाग्छ । हाम्रो संस्कृतिसँग जोडिएको खाना अब आयको स्रोत बनेको छ,’उनले भनिन् । सविताजस्ता थुप्रै व्यवसायीले कोदोका परिकारहरू बनाउँदै आएका छन् ।

स्मार्ट फुडको वैश्विक मान्यता, जलवायु परिवर्तन अनुकूलता, स्वास्थ्य लाभ र ग्रामीण आर्थिक सशक्तिकरणका हिसाबले कोदो भविष्यको बाली रहेको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष सीता गिरी बताउँछन् । 

नीति निर्माताहरू, निजी क्षेत्र, अनुसन्धान संस्था र उपभोक्ताहरू सबै मिलेर यसको पूर्ण सम्भावनालाई व्यवहारमा उतार्न सकेमा कोदो नेपालको खाद्य स्वावलम्बन र हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्ने उनको भनाइ छ ।
 

Share News