काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाले अर्गानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसे पनि सहर: गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसे पनि सहर गाउँकै खाने रहर’ को नीति अन्तर्गत अर्गानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ ।
नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गरे ।
स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरी बिक्रीको व्यवस्था मिलाउने तथा व्यावसायिक रुपमा दुधालु गाई तथा भैँसी खरिद गरी दूध र दूध जन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैँसी खरिद अनुदान उपलब्ध गराइने श्रेष्ठले बताए ।
अनुदानमा ४० लाख रुपैयाँ
गाउँपालिकाले विभिन्न क्षेत्रमा अनुदान दिनका लागि ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार एचआइभी सङ्क्रमितलाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराइनेछ ।
त्यस्तै गम्भीर मनोसामाजिक पीडितलाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने बताउँदै घिमिरेले अन्तर्जातीय दाइजो मुक्त जोडीलाई ५० हजार रुपैयाँ अनुदान दिइने बताए।
त्यस्तै गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गर्ने युवालाई ५ लाख रुपैयाँ प्रोत्साहन, अति गरिब तथा विपन्नलाई विद्युत महसुलमा ३ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।