‘अब यो टिमले आइएमई खल्तीलाई अर्कै लेभलमा पुर्याउँछ, सानो लगानी फिनटेकमा काम छैन’ {अन्तर्वार्ता}

काठमाडौं । खल्ती र आइएमई पेबीच मर्जर भएर आइएमई खल्ती लिमिटेड बनेको छ । अहिले खल्ती बाई आइएमई एपमार्फत् कम्पनीले सेवाग्राहीलाई सेवा दिइरहेको छ । फिनटेक क्षेत्रमै पहिलो मर्जर गरेर इतिहास रचेको खल्ती आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने अवसर विनय खड्काले पाएका छन् । खल्तीको पनि सीईओ भएर काम गरिसकेका उनले पछिल्लो समय कम्पनीको व्यवसायमात्रै होइन, फिनटेक उद्योगमै पृथक किसिमको पहिचान र परिचय बनाएका छन् । उनै सीईओ खड्कासँग आइएमई खल्तीको मर्जर, फिनटेक उद्योगको व्यवसाय र आगामी रणनीतिका विषयमा विकासन्युजका लागि सन्तोष रोकायाले विकास बहस गरेका छन् । 

आइएमई पे र खल्तीबीच मर्जर भएपछि नयाँ बनेको आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नु भएको छ, यो अवसरलाई कुन रुपमा बुझ्नु भएको छ ?

नेपालमा डिजिटल वालेट अथवा फिनटेकको विकास भएको धेरै भएको छैन । आक्रामक रूपमा अगाडि बढेको भनेको पछिल्लो १० वर्षपछि मात्रै हो । त्योभन्दा अगाडि केही सुस्त गतिमा कामहरू र कामको प्रक्रियाहरू भइरहेका थिए । योसँगै आइएमई पे र खल्ती दुइटै संस्थाहरू आफ्नो स्थापनाको ९ वर्षमा चाहिँ रनिङ भइरहेका थिए । अब यी दुइटा संस्थालाई मर्जर गरेर अझ बृहत र अझ ठूलो संस्था बनाएका छौं । चुक्ता पुँजीको आधारमा र ग्राहकको आधारमा यो संस्था अब देशको नम्बर वान पेमेन्ट सर्भिस प्रोभाइडरको रूपमा स्थापित भएको छ । यो ठूलो संस्थाको नेतृत्व गर्न पाउनु आफैमा ठूलो अवसर हो । यससँगै चुनौती पनि छन् । पुँजीमा ठूलो कम्पनी भइसकेपछि सोही बराबर रिटर्न दिनुपर्ने चुनौती पनि छ । अहिले टिम पनि एकदम ठूलो छ । मर्जर प्रक्रिया थालेको एक वर्षपछि कम्पनीको मर्जर गरेर एकीकृत कारोबार गर्न हामी सफल भएका छौं । अब वित्तीय पहुँच र वित्तीय समावेशीलाई देशभर फैलाउँदै व्यवसायलाई विस्तार गर्नुपर्ने दायित्व पनि थपिएको छ ।

नेपालको फिनटेक उद्योगमा पहिलो मर्जर कसरी सफल भयो, तपाईंको भूमिका के कस्तो रह्यो ?

यसमा दुइटा कुरा आउँछ, एउटा कुनै पनि मर्जर सफल हुनका लागि एकीकृत कारोबारसम्मको प्रक्रिया भयो । अर्को- एकीकृत कारोबारपछि कम्पनी कत्तिको सफल भयो, के कस्तो ग्रोथ भयो भन्ने कुरा हुन्छ । यो विषयलाई एक/दुई वर्षपछि समीक्षा गर्ने विषय रह्यो । एकीकृत कारोबार हुने अवस्थासम्म पुर्याउनका लागि प्रमोटर अथवा सेयर होल्डरहरूबाट ठूलो प्रयास भयो । अर्को- व्यवस्थापन पक्षबाट पनि प्रयास भयो । म यसअघि खल्तीको सीईओ हुँदैगर्दा पनि आफ्नो तहबाट हुने प्रयास गरे‌ं । मर्जर प्रक्रियामा पनि एउटा जिम्मेवारी थियो । सेयर होल्डरहरूलाई कन्फिडेन्स बढाउनका लागि पनि हामीले प्रयास गर्यौं । मर्जरको सम्भावना, त्यसको अवसर लगायत विषयमा पनि हेर्नुपर्ने हुन्छ । सानो केकको पाई लिनुभन्दा ठूलो केकको सर्टेन पाई त्योभन्दा ठूलो हुन सक्छ भन्ने हिसाबले हामीले कन्भिन्स गर्यौं जस्तो लाग्छ । यसमा सबैको समान सहभागिता र योगदान रह्यो । त्यस्तै, नियामक नेपाल राष्ट्र बैंकले पनि सपोर्ट गर्यो । हामी जेजति ठाउँमा ठोक्किन्छौं, त्यहाँबाट राम्रो साथ सहयोग रहेकोले यो मर्जर सफल भएको हो । 

मर्जरका लागि एक वर्ष अघिदेखि विभिन्न छलफल तथा होमवर्क भएको थियो भन्नुभयो । तर, मर्जर हुँदैछ भनेर अन्तिम घडीमा मात्रै सार्वजनिक गरियो, त्यसभित्रको अन्तर्य के थियो ?

पहिला धेरै हल्ला भएर पछि मर्जर भएन भने राम्रो हुँदैन । दुइटा संस्था एक हुनु भनेको विवाहजस्तै हो । विवाह भन्ने कुरा त टुङ्गो लगाइसकेपछि मात्रै निमन्त्रणा दिने हो । विवाहको टुङ्गो नलाग्दै निमन्त्रणा त दिनु भएन नि । मर्जरमा विभिन्न विषयहरू आउँछन् । यसको स्वाप रेसियो, ‘गिभ एण्ड टेक’ को विषय, दुइटै संस्थाको आफ्नो लिगेसी, ग्राहक, संस्थाको ब्राण्ड, कसले कम्प्रमाइज गर्ने लगायत विषय आउँछन् । ब्राण्ड पनि दुइटैलाई अगाडि बढाउन सकिँदैन । आ-आफ्नो टेक्नोलोजी छ । यी सबै विषयमा छलफल गर्नुपर्ने हुन्छ । यी सबै विषयमा सहमति भइसकेपछि ल अगाडि बढ्ने भनेपछि मात्रै कुरा बाहिर आउने हो । यो सँगै नियामकको स्वीकृतिको विषय पनि महत्त्वपूर्ण छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत नलिँदासम्म हामी मर्जर गर्छौं भनेर हल्ला गर्नु पनि भएन । यी सबै कुराहरू क्रमबद्ध रूपमा सम्पन्न गरिसकेपछि ल अब चाहिँ मर्जर गर्ने भनेर निर्णय गरिसकेपछि धेरै समय लाग्दैन । त्यसका लागि हामीलाई एक वर्ष लागेको हो । यो यात्रा साँच्चिकै एकदम ‘एक्साइटिङ’ छ । म ‘डे वान’ देखि नै यो प्रक्रियामा सहभागी भएकोले पनि दुइटै संस्थाका प्रमोटर लगायत सबैलाई प्रशंसा गर्नैपर्छ । 

हामीले विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जरको अभ्यास र अनुभव पनि देखेका/सुनेका छौं, सबै विषयहरू अगाडि नै सहमतिसँगै सार्वजनिक नै गरेर एकीकृत कारोबार गर्छन् । तर, आइएमई पे र खल्तीका अधिकांश विषय अझै गुपचुप छन्, यो मर्जर हो कि प्राप्ति हो कि ? स्वाप रेसियो कति भयो भन्ने विषय सार्वजनिक भएको छैन, यो विषयमा पारदर्शिता अपनाउन किन आवश्यक लागेन ?

यसको स्वाप रेसियो बुझाउन केही गाह्रो छ । खल्तीको चुक्ता पुँजी केही कम र आइएमई पेको बढी नै थियो । एउटा सम्मानित स्वाप रेसियोको कुरा गर्ने हो भने १ः१ आवश्यक हुन्छ भने त्योभन्दा माथि गए पनि १ः५ को आवश्यक पर्थ्यो होला । यसमा पनि कुनै धेरै माथि र कुनै धेरै कम भन्ने छैन । अहिले हाम्रो चुक्ता पुँजी साढे ५४ करोड रुपैयाँ छ । दुवै मर्जर इन्टीटीको होल्डिङ ५०/५० प्रतिशतको हाराहारीमै छ । यसमा केही तलमाथि होला । कम्पनी पब्लिक भइसकेको छ । भोलि लिष्टिङ हुने बेला अझ धेरै सूचना आउँछ । हामीले जति आवश्यक छ, त्यति डिस्क्लोज गर्छौं । त्यसैले जसको बढी पुँजी छ, उसले अलि बढी कित्ता र जसको कम पुँजी छ, उसले कम कित्ता त पाउने नै भयो । भोलिका दिनहरूमा आईपीओ पाइपलाइनमा जाँदा अन्य विषय बाहिरिन्छन् नै । यसलाई प्राप्ति भन्दा पनि गाभ्ने र गाभिनेका भनेका छौं । त्यो भनेको मर्जर नै हो । 

अधिकांश संस्थाको मर्जरपछि कर्मचारी समायोजन तथा व्यवस्थापनको विषय चुनौतीको रूपमा हेरिन्छ, यो समस्या आइएमई खल्तीमा छ कि छैन ? 

यो विषयमा म आफूलाई धेरै भाग्यमानी सम्झिन्छु । हामीले कुनै पनि ‘ले अफ’को योजना ल्याउनु परेन । हामी ग्रोथको चरणमा भएको हुनाले त्यस्तो अवस्थामा पुग्नु परेन । कम्पनीमा समस्या थियो भने खर्च कटौतीको अवस्था आउँथ्यो होला । तर, हामी सस्टेन अवस्थामा छौं । अहिले पनि कम्पनीमा सर्टेन भ्याकेन्सीहरू आवश्यक छ । कर्मचारी समायोजन गर्दैगर्दा दुई जना सीईओ हुन्छन् । यसमा पनि हामीले सीप र मेरिटोक्रेसीको आधारमा निर्णय लिइसकेका छौं । दुई कम्पनीका सबै कर्मचारी पनि  अहिले छन् । त्यस्तो कुनै समस्या छैन । 

तपाईंले फिनटेक उद्योगमा जुन किसिमको प्रगति र पफर्मेन्स गरिरहनु भएको छ, यो सम्भव कसरी भइरहेको छ ? 

एउटा नेतृत्व सफल हुनका लागि दुइटा कुरा फोकस गर्नुपर्छ । एउटा ‘स्ट्राटेजिक ओरिएन्टेसन र अर्को ‘अपरेसनल इफिसिएन्सी’ । यो विषयलाई आत्मसात गर्दै अगाडि बढ्यो भने नेतृत्व सफल हुन्छ । ‘स्ट्राटेजिक ओरिएन्टेसन’को सबालमा मलाई प्रमोटर तथा बोर्डको तहबाट राम्रो साथ सपोर्ट छ । हिजोका दिनमा खल्तीको सीईओ होस् वा आजको दिनमा आइएमई खल्तीको सीईओ हुँदै गर्दा पनि त्यो साथ छ । आज आइएमई ग्रुप, वर्ल्डलिंक र त्रिवेणी ग्रुपजस्ता ठूल्ठूला कर्पोरेट हाउसहरू हुनुहुन्छ । उहाँहरू सबैको साथ छ । 

कम्पनीको अपरेशनल तहमा पनि हाम्रो टिम लिडर तथा कर्मचारी साथीहरू डाइनामिक हुनुहुन्छ । सबै युवा हुनुहुन्छ । इनर्जेटिक हुनुहुन्छ । अगाडि फेसमा विनय खड्का देखिए पनि संस्थाको सफलतामा पछाडि ठूलो टिम मेम्बरहरू हुनुहुन्छ । मैले प्रतिनिधित्व मात्रै गर्ने हो । मर्जपछि पनि व्यवस्थापन तहमा जुन टिम मेम्बरहरू हुनुहुन्छ, उहाँहरू सबै एक्सिलेन्ट हुनुहुन्छ । सबैमा केही गरौं भन्ने उत्साह र ऊर्जा छ । कोही वर्षौंदेखि यही फिल्डमा हुनुहुन्छ, कोही नयाँ फिल्डबाट आउनु भएको छ । कतिपय सीएहरू हुनुहुन्छ, एकदमै राम्रो टीम बनेको छ । अब यो टीमले आइएमई खल्ती लिमिटेडलाई अर्कै लेभलमा पुर्याउँछ । 

null

यो क्षेत्रमा धेरै कम्पनीहरू समस्यामा छन् । तर, तपाईंले नेतृत्व गरेको कम्पनीले राम्रो प्रगति गरेको देखिन्छ, आफूलाई क्षमतावान ठान्नु हुन्छ कि भाग्यमानी ?

यो सबै मेरो टीमको योगदान हो । अर्को- राइट टाइममा राइट काम गर्नु पर्यो त्यसले एउटा नतिजा दिन्छ । यही काम हामीले १५ वर्ष अगाडि गरेको भए सफल हुँदैन थियाैं होला । १५ वर्ष अगाडि स्मार्टफोन पनि थिएनन् । इन्टरनेटको सुविधा त्यो किसिमको थिएन । त्यसैले राइट टाइममा राइट कामसँगै राइट इफोर्ट लगाएर काम गर्यो भने राइट रिजल्ट आउँछ । कुनै न कुनै ठाउँमा भाग्यको पनि योगदान हुन्छ । अर्को म मेरो मेन्टरहरूसँग सधैं नजिक भएर काम गरें । त्यसबाट धेरै कुराहरू सिक्न पाइयो । यो मात्रै सबै कुरा होइन, कुद्नु पर्ने धेरै छ । एउटा लेभलमा पुर्याएपछि रेष्ट भन्ने हुँदैन । 

आइएमई र खल्ती आफैमा बलियो कम्पनी मर्जर भए, अब आइएमई खल्ती लिमिटेडको प्रतिस्पर्धी को हो ?

आजभन्दा १० वर्ष अगाडि पेमेन्ट उद्योग थिएन । अहिले यो उद्योग बन्यो । हजारौंले रोजगारी पाए । सरकारले राजस्व पाइरहेको छ । धेरै कम्पनी आएर यो वातावरण बन्यो । अहिले वार्षिक १७ अर्ब बढीको रेभिन्यू छ । यो सबै कम्पनीको प्रयासले भएको हो । हामी पनि मर्जर गरेर थप बलियो बन्ने नै हो । आजको दिनसम्म  खल्ती अथवा आइएमई पे भन्दा तपाईंको दिमागमा वालेट भन्ने आउँथ्यो । पैसा पठाउनु पर्यो भने यी वालेटलाई सम्झिनु हुन्थ्यो । अब हामीले पैसा पठाउने र खर्च गर्नेमात्रै नभएर पैसा कमाउने र लगानीको ठाउँ पनि दिनुपर्छ भनेर काम गर्छौं । म अब यसलाई सुपर वालेट भन्छु । पैसा बचतसँगै लगानीको स्पेस पनि त्यो वालेटले दिन सकोस् । त्यसपछि अझ मर्जरको सार्थकता हुन्छ । 

हाम्रो वालेट-वालेटसँग प्रतिस्पर्धाभन्दा पनि नगदसँग प्रतिस्पर्धा हो । आजको दिनमा १५/१६ प्रतिशतमात्रै कारोबार डिजिटल हुँदा अझै पनि ठूलो रकम अर्थात् बढीमा ८० प्रतिशत डिजिटल कारोबार बाहिर नै छ । हामी डिजिटल कारोबार ५० प्रतिशत बढी पुर्याउन सक्यौं भने एउटा तहमा पुग्छौं ।  हिजोको दिनमा २७ वटा वालेट कम्पनीहरुलाई लाइसेन्स दिँदा सबैले अफरिङ गर्ने भनेको युटिलिटिज पेमेन्ट तथा टपअप र टिकेटिङ थियो । तर, आजको दिनमा धेरै सुविधा थप भइसकेको छ । बचतको सुविधा, बीमा पोलिसीको सुविधा, ऋणको सुविधा, एसआईपीको सुविधा लगायत ल्याइरहेका छन् । यो विस्तारै बढ्छन् । सबैको सहकार्यमै डिजिटल कारोबार बढाउनुपर्ने दायित्व छ । 

अगाडि फेसमा विनय खड्का देखिए पनि संस्थाको सफलतामा पछाडि ठूलो टिम मेम्बरहरू हुनुहुन्छ । उहाँहरू सबै एक्सिलेन्ट हुनुहुन्छ । सबैमा केही गरौं भन्ने उत्साह र उर्जा छ । यो टीमले आइएमई खल्ती लिमिटेडलाई अर्कै लेभलमा पुर्याउँछ । 

अब वालेट मार्केटमा आइएमई खल्तीको बजार हिस्सा कति हुन्छ ?

पेमेन्टमात्रै भनेर लियो भने एउटा हुन्छ । ननपेमेन्ट गतिविधि अर्कै हुन्छ होला । तर, नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार भनेर तथ्यांक सार्वजनिक गर्छ त्यहाँ हाम्रो हिस्सा ४० प्रतिशत छ । तर, यो हिस्सा भन्ने विषय क्षेत्रमा आधारित हुन्छ । कुनै क्षेत्रमा कुनै कम्पनी टप वान हुन्छ भने कुनैमा अर्को कम्पनी हुन सक्छ । एपमा आउने सबैले कारोबार गर्छन् भन्ने छैन । अन्य उद्देश्यका लागि पनि आउँछन् । हाम्रो उद्देश्य भनेको सबैमा नम्बर वान बन्ने पनि होइन । हामी आफ्नो भिजन र उद्देश्य लिएको काममा नम्बर वान नै हुने हो । अरू धेरै क्षेत्रमा त अन्य जसले पनि काम गर्न सक्नुहुन्छ । 

तपाईंको नेतृत्वमा आइएमई खल्ती लिमिटेड कस्तो हुन्छ ? कम्पनीलाई कस्तो बनाउनुहुन्छ ? 

खल्ती बाई आइएमई खर्च गर्ने र पैसा पठाउने प्लेटफर्म भन्दा पनि यो बचत पनि गर्न सकिने बनाउँदैछौं । यसबाट लगानी पनि गर्न सकिन्छ । यो सुविधालाई हामीले स्थापित गर्नुपर्नेछ । विभिन्न दूरदराजमा वित्तीय पहुँच र समावेशिता पनि छैन । त्यहाँको मान्छेले ५ हजार ऋण लिन चाह्यो भने आजको संरचनाले सम्भव छैन । बैंकबाट ५ हजार ऋण लिन पनि सम्भव छैन । अब यो सुविधा हामी दिन्छौं । अबको केही वर्षपछि हामी पब्लिकमा जाँदैछौं । यो कम्पनीको मालिक पनि सर्वसाधारण नै हुन्छन् । २० प्रतिशतको हाराहारीमा पब्लिकका लागि सेयर जारी गर्न सकिन्छ । 

पछिल्लो समय अधिकांश वालेट कम्पनीहरू समस्यामा छन् भन्ने सुनिन्छ, वालेटको बजार र बिजनेस कस्तो छ ?

केही कम्पनीहरू समस्यामा छन् । केही नयाँ पनि आइरहेका छन् । वालेट मार्केटकै लागि नयाँ न्यूजहरू पनि आइरहेका छन्, जुन यो क्षेत्रका लागि राम्रो हो । यो क्षेत्रका लागि लगानी ठूलो चाहिन्छ । कतिपय कम्पनीले लाइसेन्स पाए पनि लगानी ठूलो चाहिने भएको कारणले बजारमा आउन सकेका छैनन् । बजारमा आउने कि नआउने भन्नेमा ती कम्पनीहरू दोधारमा छन् । नियमनका हिसाबले पनि दैनिक राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने हुन्छ । आन्तरिक नियमन, विभिन्न नीति निर्देशन तथा मापदण्ड परिपालना, आन्तरिक अडिट, सेक्युरिटी निरन्तर रुपमा गर्नुपर्ने हुन्छ । यो नर्मल व्यवसाय होइन । आज लगानी गरेर भोलि प्रतिफल पाइने क्षेत्र पनि होइन । ब्राण्ड अर्थात् भ्यालू सिर्जना गर्नुपर्ने हुन्छ । 

डिजिटल वालेटमा विकृति पनि बढेको देखिन्छ, वालेटहरूले गैरकानुनी काम गर्ने स्थिति कसरी बन्यो ?

सबै कम्पनीको बारेमा जानकारी हुने कुरा त भएन । तर, जसले राम्रो काम गरेर विभिन्न नीति नियमहरूको पालना गरेर काम गरेका छन्, जसले राम्रो नियत राखेर डिजिटल सेवा दिन्छु भनेर काम गरेका छन् ती कम्पनीहरू राम्रैसँग चलेका छन् । करोडौं लगानी गरेर आएका कम्पनीले क्षणिक लाभको लागि त्यस्तो काम गरेको देखिँदैन । जस्तै- हाम्रै संस्थाको कुरा गर्नुहुन्छ भने नौ वर्षदेखि हामी सञ्चालनमा छौं । ९ वर्षदेखि मलाई प्रतिफल दिनु भनेर सेयरधनीले दबाब दिएको अवस्था छैन । गलत काम गैरकानुनी काम गरेर पैसा कमाउन पाइन । हाम्रो कम्पनीमा चुक्ता पुँजी बाहेक पनि करोडौं लगानी भएको छ । जस्तै अहिले हाम्रो साढे ५४ करोड पुँजी छ, त्यो बाहेक पनि हामीले विभिन्न समयमा भित्र्याएको लगानी त्यसमा गणना भएको छैन । त्यो पैसा सेयर प्रिमियममा विभिन्न अकाउन्टमा छ । कमाएको पैसा पनि हामीले कम्पनीमै रिइन्भेष्ट गरिरहेका छौं । हामीलाई तत्कालै जथाभावी काम गरेर पैसा कमाउने दबाब पनि छैन, आवश्यक पनि छैन । अहिले हामी एउटा सस्टेनेबल लेभलमा आइसकेका छौं । एक करोड २७ लाख ग्राहक लिएर बस्दा पनि बदमासी गरेर बस्यो भने के हुन्छ पब्लिकको विश्वास ।

डिजिटल वालेटको प्रतिफलको अवस्था कस्तो छ ? 

प्रतिफल दुइटा कोणबाट हेर्न सकिन्छ । हामीले पहिले अर्थशास्त्र पढ्दा ‘वेल्थ म्याक्सिमाइजेसन’ र ‘प्रफिट म्याक्सिमाइजेसन’ भनेर पढ्थ्यौं । प्रफिट म्याक्सिमाइजेसन हेर्ने हो तत्काल नतिजा नआउन सक्छ । त्यसका लागि लामो समय लाग्छ । जब प्रफिट सुरु हुन्छ त्यसपछि अर्कै स्केलको हुन्छ । सुरुमा पूर्वाधार, प्रविधि र बजारमा ठूलो लगानी गर्नुपर्ने हुन्छ । एक समय पार गरिसकेपछि आफ्नो उद्देश्य क्लियर छ, सही नियतले काम गर्यो भने दीर्घकालमा यो क्षेत्रमा राम्रो प्रतिफल पाउन सकिन्छ ।

null

पछिल्लो समय फिनटेकमा ठूला व्यवसायी तथा कर्पोरेट हाउसको प्रवेश भएको देखिन्छ, उनीहरूको प्रवेशले यो क्षेत्रलाई पार्ने प्रभाव कस्तो हुन्छ ?

यो क्षेत्रमा ठूलो लगानी चाहिन्छ । कुनैले स्टार्टअप सुरु गर्यो तर लगानी थप्दै गएन भने समस्या नै सिर्जना हुन्छ । पछि व्यवसाय नै छोड्नु पर्ने अवस्था आउँछ । यो ठूलो लगानी चाहिने क्षेत्र भएकोले ठूला कर्पोरेट हाउसहरु यो क्षेत्रमा प्रवेश गर्न आवश्यक छ । अर्को- यो उहाँहरूको लगानी विविधीकरण पनि हो । अहिले विश्वको टप टेन कम्पनी हेर्ने हो भने सातवटा टप कम्पनी टेकमा इनेवल छ । अहिले पनि आइएमई खल्तीले दैनिक चार/पाँच लाख कारोबार प्रोसेस गर्छ । प्रत्यक्ष लाखौं मानिस जोडिएका छन् । यसले हाम्रो ब्राण्ड पनि बढाउँछ । यसले कर्पोरेट हाउसलाई पनि हरेक पक्षबाट राम्रो भयो । यो क्षेत्र सधैं सानो स्टार्टअपभन्दा पनि ठूला लगानी गरेर एउटा उद्योगका रूपमा पनि स्थापित हुन सक्छ । त्यसैले पनि ठूला लगानीकर्ता यो क्षेत्रमा आउनु समग्र यो क्षेत्रका लागि राम्रो हो । 

अहिले धेरै नेपालीहरू विदेशमै गएर उतै टेकमा लगानी बढाइरहेको सुनिन्छ, यो अवस्था किन आयो ?

यसलाई म सकारात्मक रूपमा लिन्छु । नेपालमा बनेका टेक्नोलोजी र सिस्टमहरू वर्ल्ड क्लास छन् । आजको दिनमा युरोपमा एउटा पेमेन्ट सेटल हुनलाई २४ घण्टा सम्म लाग्छ । हामी तीन सेकेन्डमा भएन भने प्यानिक हुन थाल्ने अवस्था आइसक्यो । त्यो खालको अपेक्षा भइसकेको छ ।  हामीले त्यो लेभलको टेक्नोलोजी डेलिभर गरेका छौं । सबै कुराहरू यहाँ डेभलप हुँदै गर्दा भोलिका दिनमा यहाँ डेभलप भको सिस्टम यहीँ मात्र प्रयोग हुनुपर्छ भन्ने पनि छैन । त्यो सिस्टमलाई बाहिर लिएर अझ एक्सपान्ड गर्न सक्यो भने त नेपाललाई टेक हबका रूपमा स्थापित गर्न सकिन्छ । 

नेपालीहरू विदेश गएर विभिन्न कम्पनीमा लगानी गरेको समाचार मैले पनि सुनेको छु । हाम्रै साथीहरू पनि हुनुहुन्छ । जुन राम्रो कुरा हो । अहिले नेपाल सरकारले पनि विदेशमा आइटी कम्पनीको शाखा खोल्न सक्ने व्यवस्था गरेको छ । यसले दीर्घकालमा ठूलो टेवा पुग्छ । नेपालमै बसेर विश्वका लागि काम गर्न सक्ने अवस्था सिर्जना हुनु र नेपालमै बनेको प्रविधि विदेशी बजारमा बिक्री गर्नु आफैमा राम्रो सन्देश पनि हो । उनीहरू विदेश गएर काम गरेको नेपालमा काम गर्ने वातावरण नभएर भन्दा पनि नेपालमा राम्रोसँग स्थापित भइसकेका कम्पनीहरू बाहिर गएर फराकिलो बजार बनाउन थालेका हुन सक्छन् । जुन नेपालको गौरवको विषय पनि हो । 

नेपालीहरू विदेश गएर विभिन्न कम्पनीमा लगानी गरेको समाचार मैले पनि सुनेको छु । हाम्रै साथीहरू पनि हुनुहुन्छ । जुन राम्रो कुरा हो । यसले दीर्घकालमा ठूलो टेवा पुग्छ ।

अन्तर्राष्ट्रिय फिनटेक उद्योग र नेपाली बजारलाई कसरी तुलना गर्नुहुन्छ ? 

नेपालले पनि कतिपय कुरामा राम्रो फड्को मारेको छ । कतिपय कुरामा पछाडि पनि छौं । नेपालमा क्युआर पेमेन्टमा राम्रो विकास भएको छ । फास्ट पेमेन्ट सिस्टममा राम्रो काम भएको छ । अन्य देशको तुलना गर्ने हो भने डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको खाँचो छ । अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । राज्य तहबाटै इन्टरभेन्सन हुन आवश्यक छ । जस्तै हामीले दैनिक साढे पाँच लाख कारोबार संख्या गर्छौं भने अन्य कम्पनीले पनि गर्छन् होला । सरकारले नीतिगत व्यवस्था सही गर्न आवश्यक छ । हामी पनि प्रतिस्पर्धा गर्न सक्छौं । 

पछिल्लो समय टेक कम्पनीमा कर्मचारीहरू हन्टिङको विषय एकदम ठूलो देखिन्छ । कतिपय विदेशका कम्पनीहरूले हन्टिङ गरेको हामी सुन्छौं, यो समस्या कस्तो छ ?

यो विषय नौलो त होइन । यो समस्या पहिले बैंक तथा वित्तीय क्षेत्रमा थियो । एउटा विकास हुँदै गर्दा प्लेयरहरू सबै क्षेत्रमा हुन्छन् । प्रतिस्पर्धा हुन्छ नै । एउटाको स्टाफ अर्काले तान्ने प्रक्रिया सबै क्षेत्रमा हुन्छ । विदेशका कम्पनीले हन्टिङ गर्ने विषयलाई पनि म स्वाभाविक मान्छु । त्यहाँ आम्दानी पनि त्यही किसिमको हुन्छ । तर, कर्मचारीले पनि म कस्तो संस्थामा काम गर्दैछु, मेरो जिम्मेवारी र भूमिका के हो भन्ने कुरा पनि बुझ्नुपर्छ । 

Share News