काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीका न्युनिकरण गर्न माग गरेका छन् । आइतबारबाट माईतीघर मण्डलामा सत्याग्रह शुरु गरेका उनले यस्तो बताएका हुन् ।
सोमबार कुराकानीका क्रममा उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए । स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन नसक्ने स्थिति रहेको बताए । गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्युनिकरण गर्न सकिने उनको भनाइ छ ।
यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु बनाउन सकिने बताए । नगरपालिकाले बाँसको प्रवद्र्धनमा जोड दिइरहेको पनि बताए । बाँदरको समस्याले नागरिकहरु बसाईं सरिरहेको र अबको पाँच वर्षपछि कुनैपनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नील गाईले मतदान गर्नुपर्ने अवस्था भइरहेको बताए । प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्ने र त्यो गर्न नसके प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्ने माग गरे ।
‘स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन सक्दैन । ऐन बनाउन सक्दैन । असरल्ल गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्युनिकरण गर्न सकिन्छ । त्यसैले स्थानीय श्रोत र सामग्रीको प्रयोग गर्ने प्रयास गरिरहेका छौँ । तर कानून वाधक भएको कारणले सकिएको छैन,’ उनले भने ।
उनले भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको बताए ।