काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा यो वर्ष कक्षा ११ मा १ हजार ८ सय विद्यार्थी भर्ना भए । कलेजका अनुसार व्यवस्थापनमा ९ सय र विज्ञान विषयमा ९ सय गरी एक हजार ८ सय सय विद्यार्थी भर्ना भएपछि भर्ना कार्यक्रम स्थगित भयो । आइतबारदेखि नियमित पढाइ सुरु भएको कलेजले जानकारी दिएको छ ।
हरेक वर्षजस्तै कलेजमा यो वर्ष पनि विद्यार्थी भर्नाका लागि निकै भीड भयो । कलेजले प्रवेश परीक्षा लिएर राम्रा विद्यार्थी छनोट गरेर भर्ना गरेको छ । कलेजका सूचना अधिकारी धर्म ओझा गत वर्षको तुलनामा यो वर्ष बढी विद्यार्थी बजारमा आउँदा भर्नाका लागि निकै प्रतिस्पर्धा नै चलेको बताउँछन् ।
‘विद्यार्थी धेरै पास भए जिपिए पनि राम्रो ल्याएका छन्, राम्रो जीपीए ल्याएका विद्यार्थीलाई त्यही अनुसार छुट पनि दिएका छौं,’ उनले भने ।
सबैभन्दा महँगो भनिएको ललितपुरमा रहेको रातो बंगलाले एसईईपछि ए लेभलको पढाइ सुरु गर्छ । उसले रातो बंगलामै कक्षा १० पढेर एसईई पास भएका विद्यार्थी बाहेक बाहिरको धेरै विद्यार्थी नआएको बताएको छ । रातो बंगलामा ६७ जना विद्यार्थी रहेको र उनीहरूसबै जना अहिले ए लेभलमा अध्ययन गरिरहेको कलेज प्रशासनले बताएको छ । प्रशासनका अनुसार दुई/चार जना विद्यार्थी भने बाहिरका विद्यार्थी पनि भर्ना भएका छन्।
बागबजारमा रहेको काठमाडौं मोडल कलेजले पनि आफूलाई आवश्यक पर्ने विद्यार्थी भर्ना गरिसकेको जानकारी दिएको छ । कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदीले कक्षा ११ मा विभिन्न विषयमा २ हजार ४ सय विद्यार्थी भर्ना भइसकेको बताए । उनले भर्ना सुरु भएको केही दिनमै आवश्यक विद्यार्थीको संख्या पुरा हुँदा भर्ना समेत बन्द गरिसकेको जानकारी दिए ।
शुल्कमा फेरबदल
ग्लोबल कलेजले यो वर्ष शुल्क बढाएको छैन । बरु उसले धेरै विद्यार्थीलाई केही प्रतिशत छुट दिएको छ । विद्यार्थीहरूको जीपीएका आधारमा विद्यार्थीलाई शुल्कमा छुट दिएको कलेजले जानकारी दिएको छ ।
‘यो वर्ष हामीले छुट धेरै दिएका छौं,’ ओझा भन्छन्, ‘जीपीएको आधारमा मात्र नभइ विद्यार्थीलाई विभिन्न पक्ष हेरेर छुट दिन्छौं, यसरी छुट दिँदा २ लाख रुपैयाँको हाराहारीमा विद्यार्थीले कक्षा ११ को कोर्स पुरा गर्न सक्छन् ।’
ग्लोबल कलेजले कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने विद्यार्थीका लागि २ लाख ९३ हजार रुपैयाँ शुल्क लिन्छ । तर धेरै जसो विद्यार्थीले पुरै शुल्क तिर्नुपर्ने अवस्था नहुने ओझा बताउँछन् ।
रातो बंगलाले पनि यो वर्ष शुल्क नबढाएको जानकारी दिएको छ । गत वर्ष जस्तै करिब दुई वर्षे ए लेभल पढ्न विद्यार्थीले २० लाख भन्दा बढी शुल्क तिर्नुपर्छ ।
काठमाडौं मोडल कलेजले गत वर्षको तुलनामा केही शुल्क बढाएको छ । प्रधानाध्यापक सुरेन्द्र सुवेदीका अनुसार यो वर्ष ५ प्रतिशतले शुल्क बढाएको हो । शुल्क बढाए पनि अधिकांश विद्यार्थीले जीपीएका आधारमा थरीथरीका सहुलियत पाएको उनको दाबी छ ।
‘हाम्रो कलेजमा विद्यार्थीलाई धेरै छुट हुन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ महिनामा १० हजार शुल्क छ भने कोही १० हजार तिरेर पढ्छन्, कोही ९ हजार, ८ हजार कोही ५ हजार र शुल्क नतिरेर पढ्ने विद्यार्थीहरू पनि छन्, जीपीएदेखि हरेक कुरामा हेरेर छुटको व्यवस्था गरिन्छ ।’
सुवेदीको अनुसार केएमसी पढ्ने विद्यार्थीले वर्षभरि २ लाख २५ हजारमाथि खर्च गर्नुपर्छ । तर, छुटका आधारमा धेरै जसो विद्यार्थीले सबै शुल्क तिरिरहन आवश्यक नहुने उनी बताउँछन् ।
ठूला भनिएका कलेजले विद्यार्थी छनोट गरेर भर्ना गरिरहेको बेला केही कलेजले भने विद्यार्थी नपाएको बताएका छन् । गत वर्षको तुलनामा बढी विद्यार्थी बजारमा आउँदा प्लस टुको व्यवसाय राम्रो हुने आशामा रहेका कलेज गत वर्षकै हाराहारीमा विद्यार्थी भर्ना गरिरहेका छन् ।
काठमाडौंको कोटेश्वरमा रहेको कसमस इन्टरनेशनल स्कुलले गत वर्ष भन्दा यो वर्ष विद्यार्थीको संख्या घटेको बताएको छ । गत वर्ष तीन सय बढी विद्यार्थी भर्ना गरेको यो कलेजले यो वर्ष तीन सयको हाराहारीमा मात्र विद्यार्थी भर्ना भएको जनाएको छ । कलेजका प्रधानाध्यापक अर्जुन खत्री भन्छन्, ‘विद्यार्थी सबै ठूला भनिएका कलेजले लियो, उनीहरूले सिट संख्या बढाउँदा पनि विगतका वर्ष जस्तो धेरै विद्यार्थी पाउन सकिएन ।’
खत्री विद्यार्थी नपाइरहेको अवस्थामा विभिन्न विद्यार्थी संघ संगठनको दबाबले अर्कै समस्या भएको बताउँछन् । ‘कोही एमाले, कोही कांग्रेस निकटका विद्यार्थी संगठन आउँछन्, छुट अनिवार्य हुनुपर्छ भन्छन्, १० प्रतिशत महानगरले भनेको छुट दिनुपर्छ वडाले पनि छुट माग्छ, अधिकांश विद्यार्थीलाई यसरी नै छुट दिनुपर्छ,’ उनले भने ।
उनी विद्यार्थी पाए पाँच सयसम्म पढाउन सक्ने जनशक्ति रहेको दाबी गर्छन् । कसमसले यो वर्ष १० प्रतिशतले शुल्क बढाएको छ । विद्यार्थीको संख्या कम हुँदा विद्यालयको व्यवसायमा समेत असर परेको बताउँछन् ।
काठमाडौंको बत्तीसपुतलीमा रहेको गोल्डेन गेटका सञ्चालक एवं हिसानका अध्यक्ष रमेश सिलवाल उपत्यकाका कलेजमा विद्यार्थीको संख्या घटेको बताउँछन् । पछिल्लो समय राजधानी बाहिरबाट कक्षा ११ मा पढ्नका लागि काठमाडौं आउनेको संख्याका कमी आएकाले विद्यार्थीको संख्या घटेको उनी बताउँछन् । विद्यार्थीको संख्या कलेजमा कम हुँदा शिक्षालयहरूको व्यापार कम भएको उनको तर्क छ ।
कति छन् विद्यार्थी ?
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात पास भए । अर्थात् २ लाख ७१ हजार २ सय ९२ विद्यार्थी कक्षा ११ मा भर्ना भए । बाँकी विद्यार्थी अहिले पूरक परीक्षाको तयारीमा छन् । पूरक परीक्षामा पास हुने विद्यार्थीसहित करिब ३ लाख ६० हजार विद्यार्थी ११ कक्षामा भर्ना हुने सम्भावना छ ।
हिसानका अध्यक्ष सिलवाल कक्षा ११ का विद्यार्थीले एक वर्षमा शिक्षालयमा मात्र ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताउँछन् । त्यसबाहेक किताब, कापी, मोबाइल, ल्यापटप, ड्रेस, होस्टेल, होटल, रेष्टुरेण्टमा उनीहरूले गर्ने खर्च गर्दा अर्बौं रुपैयाँ खर्च हुनसक्ने उनको तर्क छ । उनले यो विषयमा वास्तविक अध्ययन नै नभएका बताए।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा सैद्धान्तिक हिसाबले यो वर्ष कलेजको व्यवसाय बढ्ने बताउँछन् । गत वर्ष पूरक परीक्षापछि केही विद्यार्थी थपिए पनि यो वर्ष सुरुमै बढी विद्यार्थी पास हुँदा कलेजले धेरै विद्यार्थी पाएको उनको भनाइ छ । विद्यार्थी बढेपछि त्यसको कक्षा ११/१२ पढाइ हुने कलेज र विद्यालयलाई राम्रो अवसर पाएको बताउँछन् । यस्तो अवस्थामा केही कलेज र विद्यार्थीले मौकाको फाइदा उठाउने भएकाले स्थानीय तहले अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।
उनी भन्छन्, ‘विद्यार्थी पास हुँदा सकारात्मक पाटो बढ्यो । तर, योसँगै यहाँभित्र हुने नकारात्मक पाटोलाई नियमन र व्यवस्थापन पनि गर्न सक्नुपर्छ। यो जिम्मेवारी स्थानीय सरकारको हुने भएकाले उसले कदम चाल्नुपर्छ ।’
प्लस टु पुरा गर्न एकजना विद्यार्थीले कति खर्च गर्न सक्छन् भन्ने प्रश्नमा उनी नेपालका शिक्षालयको अवस्था हेरेर यति नै गर्न सक्छन् भन्न नसकिने महाश्रम शर्मा बताउँछन् । ‘उपत्यकामा अहिले निकै महँगा कलेज/विद्यालय सञ्चालन भएका छन् । शुल्क पनि निकै फरक छ, यो हेरेर एउटा विद्यार्थीले औसतमा यति खर्च गर्न सक्छन् भन्न गाह्रो हुन्छ,’ उनी भन्छन्,‘ तर सामुदायिक विद्यालयमा पढ्ने हो भने धेरै खर्च लाग्दैन । सामान्य खर्चमा पनि प्लस टु पुरा गर्न सकिन्छ ।’
एसईईपछि विद्यार्थीले आफूलाई रुचि भएको विषय रोज्छन् । कोही प्राविधिक धारमा जान्छन् भने कोही गैरप्राविधिक धार रोज्छन् । नेपालमा प्राविधिकमा चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशुपालन लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ भने गैर प्राविधिकमा विज्ञान, व्यवस्थापन, मानवशास्त्र, शिक्षा लगायतका विषयहरू पढाइ हुन्छ ।
नेपालको विगतको तथ्याङ्कलाई हेर्दा र यो पटकको विद्यार्थी संख्यालाई विश्लेषण गर्दा विज्ञान विषयमा ६५ हजार, व्यवस्थापनमा १ लाख ३५ हजार, शिक्षामा ८५ हजार विद्यार्थी भर्ना हुने अनुमान छ । यस्तै, मानवशास्त्रमा ३२ हजार, कानुनमा १२ हजार विद्यार्थी भर्ना हुँदा ३० हजार विद्यार्थी प्राविधिक विषय रोज्न सक्छन् । ६ सय विद्यार्थीले ए लेभल रोज्दा तीन सय विद्यार्थी सीबीएससीई अध्ययन गर्छन् भने २ सय विद्यार्थी आईबी विषय पढ्छन् ।
विद्यार्थीले कति तिरे शुल्क ?
काठमाडौंको बबरमहलका आयुश श्रेष्ठ सेन्ट जेभिएर स्कुलमा ए लेभल पढ्दैछन् । काठमाडौं वर्ल्ड स्कुलबाट ३.९३ जीपीए ल्याएर पास भएका उनी सेन्ट जेभिएरमा भर्ना हुँदा भर्ना शुल्क डेढ लाख रुपैयाँ तिरे । अब उनले दुई वर्षसम्म १० लाख रुपैयाँ स्कुललाई बुझाउनु पर्नेछ । ए लेभल पढ्न रातो बंगला र सेन्ट जेभिएरमा प्रवेश परीक्षा दिएका उनी दुवैमा नाम निकाल्न सफल भए । तर उनले रातो बंगलाभन्दा सेन्ट जेभिएर रोजे ।
रातो बंगलामा दुई वर्षको यो कोर्स पुरा गर्न २० लाखभन्दा बढी लाग्ने भएकाले आफूले सेन्ट जेभिएर रोजेको उनी बताउँछन् । घरबाट पनि नजिकै र केही सस्तो पनि भएकाले सेन्ट जेभिएर रोजेको उनको तर्क छ ।
इमाडोलका जविक कोइराला विज्ञान विषय अध्ययनका लागि मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा भर्ना भएका छन् । ४० हजार शुल्क तिरेर उनी भर्ना भए भने स्कुल पोसाकका लागि मात्र ८ हजार पाँच सय रुपैयाँ तिरे । अब उनले कक्षा ११ पुरा गर्न २ लाख ५३ हजार तिर्नु पर्नेछ । विज्ञान विषयका लागि जम्मा शुल्क २ लाख ९२ हजार छ तर उनले राम्रो जीपीए ल्याएका कारण छुट पाएका हुन् । जविकले एसईईमा ३.९१ जीपीए ल्याएका थिए ।
विद्यार्थीले भर्ना शुल्क, मासिक शुल्कभन्दा धेरै अन्य खर्च गर्नुपर्छ । किताब, कापी आवश्यक सामग्री किन्दा अर्बौं रुपैयाँ अहिले बजारमा गएको छ । शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला विद्यार्थीले बजारमा सामग्री किनेको पैसा तिनै मालिकका हातमा परेको बताउँछन् ।
‘बजारमा पैसा जानु राम्रो पक्ष हो । तर, विद्यार्थीले अहिले खर्च गरेको पैसा तिनै शिक्षाका मालिकको हातमा गइरहेको छ,’ उनी भन्छन्, ‘पुस्तक पसल उनैका छन्, पोशाक सिलाउने ठाउँ उनीहरूकै छ, सबै मालिककै हुँदा पैसा पनि मालिककै हातमा जान्छ जसले बजारलाई कुनै फाइदा हुँदैन ।’
कोइराला देश चलाउने व्यक्तिले नै शिक्षा चलाउँदा शिक्षामा मात्र नभइ पुरै अर्थतन्त्रमा असर परेको तर्क राख्छन्।
‘निजी विद्यालय स्कुल चल्ने भनेको नाफाले हो । स्कुल चलाउने मान्छे र देश चलाउने मान्छे नेपालमा एउटै हुन् । ‘कलेजले जुन शुल्क बढाउँछन् त्यो पैसाको अंश हाम्रो नेतृत्वले पनि पाउँछ,’ उनी भन्छन्, ‘कलेज विद्यालयको शुल्क कति बढाउने भन्ने एउटा आधार हुन्छ । शुल्क जसले जति बढाए पनि नेतृत्व चुप लागेर बस्छ । यसको असर विद्यार्थी अभिभावकलाई परिरहेको छ ।’