स्ववियु आरआर क्याम्पसले भलिबल प्रतियोगिता आयोजना गर्ने, विजेतालाई ३ लाख पुरस्कार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले राष्ट्रियस्तरको अन्तरक्याम्पस पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नाराका साथ ‘आरआर स्ववियु कप-२०८२’ आयोजना गर्न लागिएको हो । 

आगामी भदौ २२ गतेदेखि सुरु हुने प्रतियोगिता ६ दिनसम्म चल्नेछ। भदौ २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता आरआर क्याम्पसकै प्राङ्गणमा आयोजना गरिने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काले भलिबलको माध्यमबाट विद्यार्थीहरूबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘यो प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने अपेक्षा गरेका छौं ।  यसले विद्यार्थीमा नेतृत्व विकास र राष्ट्रिय एकताको सन्देश फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । इच्छुक टोलीहरूले थप जानकारीका लागि आयोजकलाई ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । 

अध्यक्ष खड्काले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अग्रसर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै यसलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहयोग गर्न अपिल गरेका छन् ।

Share News