काठमाडौं । लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करिअर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२ को परीक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमुखीरण तालिम दिएको हो ।
विद्यार्थीहरूलाई ‘प्लस टु’ पछि भविष्यमा के गर्दा राम्रो हुन्छ ? अध्ययन गर्नको लागि कुन विषय छनौट गर्दा राम्रो हुन्छ ? आफूमा भएको क्षमतालाई कसरी निखार्दै लैजाने ? भन्ने विषयमा परामर्श दिनको लागि उक्त कार्यक्रम आयोजना गरेको हो ।
यसका साथै सेयर बजार, स्वस्थ खानपान, एआई, च्याट जीपीटी, फ्रिलाइन्सिङ, इन्टेरियर डिजाइनलगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञद्वारा तालिम पनि दिएको थियो । शनिबार काठमाडौंको इन्द्रेणी बैङ्क्वेटमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीले धेरै नयाँ कुरा सुन्न पाउँदा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रम सोचेको भन्दा राम्रो र उपलब्धीमूलक भएको भन्दै उपस्थित विद्यार्थीको नाममा छिट्टै वृक्षरोपण पनि गर्ने लियो क्लब अफ काठमाडौं सौहार्दले प्रतिवद्धता जनाएको छ ।
काठमाडौं इन्टरनेशनल कलेजका सीईओ प्रतापराज जोशीले विद्यार्थीलाई आफूलाई रुची भएको विषय छानेर पढ्नको लागि प्रोत्साहन गरेका छन् ।
विद्यार्थी अभिमुखीकरण कार्यक्रम एकदमै उपलब्धीमूलक हुने भएकाले समय समयमा यस्ता कार्यक्रम गर्नुपर्ने र त्यसमा कलेज प्रशासनले पनि सक्दो सहयोग गर्ने उनले बताए ।