हेनरी भोल्ट्सको ‘मोडेल सी प्रो’ विद्युतीय गाडी नाइमा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ क्रान्ति ल्याउने तयारीमा रहेको हेन्री भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडेल सी प्रो’ को सार्वजनिक घोषणा गरेको छ ।

सन् २०२२ देखि नेपालमा हेन्री भोल्ट्स इलेक्ट्रिक भेहिकल्सको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो नयाँ मोडेलको शुभारम्भ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गर्नेछ ।

मोडेल एचको सफलतापछि ल्याइएको मोडेल सी प्रो ३०० किमी लामो रेञ्ज, ३० किलोवाट डीसी फास्ट चार्जिङ र २५ किलोवाट हावर्स लिथियम ब्याट्री जस्ता अत्याधुनिक फिचरहरूसहित बजारमा प्रवेश गर्न लागेको हो । यसले अब ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ ।

यसमा ३५ किलोवाट मोटर, ११० एनएम टर्क र हिल होल्ड असिस्ट जस्ता विशेषताहरू छन् । काठमाडौंको साँघुरा गल्ली र ट्राफिकलाई ध्यानमा राखेर यसको ३.३ मिटर लम्बाइ र ४.८५ मिटर टर्निङ रेडियस राखिएको छ।

यस मोडेलमा लेमन ग्रीन, चेरी रेड, रुबी ब्ल्याक, र कोकोनट ह्वाइट जस्ता आकर्षक रंग विकल्प, ९ इन्च टचस्क्रिन, ७ इन्च इन्स्ट्रुमेन्ट डिस्प्ले, र स्मार्ट सेफ्टी फिचरहरू जस्तै एबीएस,ईबीडी, आईएसओ‌ फिक्स र रिभर्स क्यामेरा उपलब्ध छन् ।

धेरै अपग्रेड र फिचरका बाबजुद पनि कम्पनीले यसको प्रारम्भिक मूल्य २३ लाख रुपैयाँभन्दा कम हुने बताएको छ ।

हेनरी भोल्ट्सको विशेषता रहेको डोरस्टेप सर्भिसिङ यो मोडेलमा पनि उपलब्ध हुने एस क्युब इन्टरप्राइजेजले जनाएको छ ।
 

Share News