काठमाडौं । नेपालको विद्युतीय गाडी (ईभी) बजारमा अर्को एक प्रिमियम एसयूभी थपिने भएको छ । नेपालका लागि डोङफेङ फरथिङको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले ‘फरथिङ फ्राइडे’ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीका अनुसार यो गाडी यही साउन २१ गतेदेखि काठमाडौंमा आयोजना हुने ‘नाडा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मार्फत औपचारिक रूपमा सार्वजनिक गरी बिक्री-वितरण सुरु गरिनेछ ।
मूल्य र भेरियन्ट
कम्पनीले फरथिङ फ्राइडेलाई दुई भेरियन्टमा बजारमा ल्याउनेछ । जसअनुसार लग्जरी भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ र एक्जुकेटिभ भेरियन्टको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
ब्याट्री, पर्फर्मेन्स र चार्जिङ
फरथिङ फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ । यसलाई ११ किलोवाटको एसी चार्जरले पूर्ण चार्ज गर्न ५.५ घण्टा लाग्ने कम्पनीको दाबी छ ।
त्यस्तै, १२० किलोवाटको डीसी फास्ट चार्जरले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केवल ३५ मिनेट लाग्नेछ, जसले लामो दूरीको यात्रालाई सहज बनाउनेछ ।
आकर्षक डिजाइन र फिचरहरू
आकर्षक डिजाइनमा उपलब्ध यो एसयूभीको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ भने यसमा २७१५ एमएमको लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा पानारोमिक सनरुफ, १९ इन्चको स्पोर्टस् टायर, १०.२५ इन्चका दुईवटा स्क्रिन, ३६० डिग्री क्यामेरा, लेदर सिट र क्रिस्टल गियरनब जस्ता प्रिमियम फिचरहरू समावेश छन् । यसका साथै मेमोरीसहितको इलेक्ट्रीक सिट, इलेक्ट्रीक टेलगेट, हिटिङ र भेन्टिलेटेड फ्रन्ट सिट, तथा सिट मसाज जस्ता आरामदायी सुविधा पनि छन् ।
सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक पार्किङ जस्ता एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचरहरू दिइएको छ ।
लक्ष्मी ग्रुप नेपालको अटोमोबाइल क्षेत्रमा एक स्थापित नाम हो, जसले हुन्डाई, बीएमडब्लू जस्ता विश्वप्रसिद्ध ब्राण्डहरूको आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएको छ । हालै ग्रुपले नेपालकै पहिलो फोरह्वीलर गाडी एसेम्ब्ली प्लान्ट, लक्ष्मी मोटर कर्पोरेसन, समेत सञ्चालनमा ल्याइसकेको छ ।