ललितपुर । पशु कल्याणको क्षेत्रमा विगत एक दशकदेखि सक्रिय स्नेहाज केयरले आयोजना गरेको ‘काठमाडौं भेज फेस्ट’ भव्य रूपमा सम्पन्न भएको छ । उक्त फेस्टको उद्घाटन ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले गरेका थिए । कार्यक्रम काठमाडौंको बौद्धस्थित उत्पला रेस्टुरेन्टमा सम्पन्न भएको हो ।
स्नेहाज केयरले आयोजना गरेको यो पाँचौं भेज फेस्ट हो । उद्घाटन सत्रमा बोल्दै प्रमुख महर्जनले छैटौं भेज फेस्ट ललितपुरमै गर्ने घोषणा गरे । वनस्पतिमा आधारित जीवनशैलीको प्रवर्द्धन गर्न फेस्ट आयोजना गरिएको हो । उनले स्नेहाज केयरले समुदायमा रहेका कुकुरलगायत जनावरलाई आश्रय, उपचार र हेरचाह गरेर असाधारण कार्य गर्दै आएको भन्दै ललितपुर महानगरको तर्फबाट विभिन्न क्षेत्रमा सहयोग गरिएको बताए ।
पशु सेवा विभागका महानिर्देशक डा। रामनन्द तिवारीले पृथ्वीमा वनस्पति र प्राणी दुवैको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै पशु अधिकार र कल्याणका लागि सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य भएको बताए ।
स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले वनस्पतिमा आधारित परिकार र जीवनशैलीको प्रचारप्रसार गर्न फेस्ट आयोजना गरिएको जानकारी दिइन् । उनले भनिन्, 'स्वादका लागि हामीले अवोध प्राणीको हत्या गर्छौँ, त्यो किन गर्नुपर्ने ?' उनले मासुबाट मात्र पोषण प्राप्त हुन्छ भन्ने धारणा गलत भएको स्पष्ट पारिन् । भिगन जीवनशैलीले प्राणीको जीवन जोगाउने भएकाले सबैलाई यो शैली अपनाउन आग्रह गरिन् । साथै, पशु कल्याण ऐन तत्काल ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइन् ।
उत्पला रेस्टुरेन्टका सञ्चालक दीपक बोहराले भिगन जीवनशैलीले प्राणीको बाँच्न पाउने अधिकारको संरक्षण गरेको बताए । उनले भने, 'पोषणका लागि प्राणीको हत्या आवश्यक छैन ।'
स्नेहाज केयरले संचालन गरेको पशु अधिकार अभियानमा आबद्ध पाँच वटा विद्यालयलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । यस्तै, पशु अधिकारसम्बन्धी उत्कृष्ट कविता लेख्ने विद्यार्थीहरूलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । श्रेष्ठ एनिमल लभर श्याम महर्जनलाई पनि सम्मान गरिएको थियो ।
महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनी तथा विक्री, भिगन रेस्टुरेन्टहरू, भिगन सामग्रीका स्टलहरू राखिएका थिए ।
आयोजकका अनुसार महोत्सवमा १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगन परिकार उत्पादक, आकर्षक गरगहना, अर्गानिक कृषि उपज, हस्तकला सामग्री, पशु कल्याण संस्थाहरू, योग तथा दर्शनसम्बन्धी स्टल गरी ९० भन्दा बढी स्टलहरू राखिएका थिए ।
स्नेहाज केयरले सन् २०१७ देखि विरुवामा आधारित आहारको प्रवर्द्धन गर्ने कार्यक्रमहरू गर्दै आएको छ । स्वस्थकर खानपान शैलीको विकास, पशुप्रतिको क्रूरता अन्त्य गर्न फेस्ट महत्वपूर्ण हुने संस्थाले जनाएको छ ।
संगठनले विद्यालयहरूमा विरुवामा आधारित आहार, पशु कल्याण तथा मानवता सम्बन्धी कक्षा सञ्चालन गर्ने, विद्यालय क्यान्टिनका कुकलाई भिगन परिकार तालिम दिने, समुदाय स्तरमा महिलालाई गोष्ठी तथा तालिम दिने, रैथाने भेज खानाको प्रवर्द्धनका लागि फुड ब्लग र सामाजिक सञ्जालमार्फत प्रचार गर्ने र वार्षिक फेस्ट आयोजना गर्दै आएको छ ।
विसं २०७२ मा ललितपुर महानगरपालिका–२१ मा स्थापना भएको स्नेहाज केयरले विगत १० वर्षदेखि पशु कल्याणका क्षेत्रमा विविध कार्य गर्दै आएको छ । संस्थाले पशुपंक्षीहरूको उद्धार, उपचार र पुनःस्थापना, सामुदायिक कुकुरहरूको बन्ध्याकरण, रेविजविरुद्धको खोप अभियान, बेवारिसे गाई–बाच्छाको उद्धार, अव्यवस्थित पशु ढुवानी रोक्न कार्यक्रम तथा हिमाली क्षेत्रका भारवाहक जनावरको कल्याणका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।