नाईमा एक्सपोमा फरथिङ एसयूभीको प्रदर्शन हुने

काठमाडौं । लक्ष्मी ई-मोबिलिटीले चिनियाँ उदीयमान इलेक्ट्रिक गाडी ब्रान्ड फरथिङ नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने 'नाईमा नेपाल मोबिलिटी एक्सपो २०२५' मार्फत फरथिङ ब्रान्डको पहिलो प्रिमियम इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।

सन् १९७३ देखि व्यापारिक गतिविधिमा सक्रिय लक्ष्मी ग्रुपले हुन्डाई, बिएमडब्लु, केई, एसएमएल लगायतका अन्तर्राष्ट्रिय ब्रान्डमार्फत नेपाली अटोमोबाइल बजारमा सशक्त उपस्थिति बनाउँदै आएको छ । समूहले हालै नेपालकै पहिलो फोर–ह्वीलर गाडी एसेम्ब्ली प्लान्ट 'लक्ष्मी मोटर कर्पोरेशन' पनि सञ्चालनमा ल्याइसकेको छ, जसले अटोमोबाइल क्षेत्रको औद्योगिकीकरणमा मील का पत्थर राखेको छ ।

नेपालभर ६३ भन्दा बढी री–ल्याक्स रिचार्ज नेटवर्क र रिपेयर स्टेसन स्थापना गरी लक्ष्मी समूहले ईभी प्रयोगकर्ताहरूलाई थप सहज बनाएको छ ।

फरथिङको प्रिमियम एसयूभीमा ६४.४ किलोवाट–आवरको ब्याट्री, ९९ किलोवाटको पावर मोटर, र ४०० किलोमिटरभन्दा बढी माइलेज क्षमतासहित उच्च प्रदर्शन, आधुनिक डिजाइन र स्मार्ट इन्टेरियर सुविधाहरू समावेश गरिएको छ । यो सहर भित्रको दैनिकीदेखि लामो दूरीका यात्रासम्म उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ ।

'फरथिङ केवल गाडी होइन, यो भविष्यको मोबिलिटीप्रतिको दृष्टिकोण हो,' लक्ष्मी ई–मोबिलिटीका प्रवक्ताले बताए । उनले थपे, 'नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि सुलभ बनाउने लक्ष्यसहित हामी फरथिङ ब्रान्ड ल्याउँदैछौं ।'

नेपालको इलेक्ट्रिक गाडी बजारमा गति र गुणस्तरको नयाँ अध्याय सुरु गर्न तयारी अवस्थामा रहेको फरथिङ ब्रान्डले आगामी दिनमा ईभी प्रविधिमा नयाँ मापदण्ड कायम गर्ने अपेक्षा गरिएको छ ।

Share News