नीलबाराही काठमाडौंको उत्कृष्ट सामुदायिक विद्यालय हो । यहाँ करिब ११ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूको रुचिका आधारमा शिक्षा दिइरहेको यो विद्यालयले जापानिज र कोरिया भाषा पनि पढाइरहेको छ । यो विद्यालयमा अहिले विद्यार्थीको आकर्षण कस्तो छ ? ३४ वर्षदेखि शिक्षण पेशामा आवद्ध हुँदाको अनुभवसहित हामीले विद्यालयका प्रधानाध्यापक डा. जानुका नेपालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
शिक्षण पेसामा केकस्ता चुनौती छन् ?
यो एकदमै राम्रो पेशा हो । यसमा आत्मसन्तुष्टि छ, आत्मसम्मान पनि छ । तर समाजले शिक्षकलाई हेर्ने नजर अलिकति फरक छ । शिक्षक भनेको कृपाले जागिर खाने, केही नपाएर शिक्षण पेशामा जाने भन्ने खालको समाजको एउटा मूल्यांकन छ । तर त्यो मूल्यांकन पनि विस्तारै परिवर्तन हुँदैछ । अहिले शिक्षण पेशा पनि राम्रो पेशा हो भनेर आकर्षण धेरै बढेको छ । तर शिक्षण पेशालाई व्यवस्थित गर्न नेपाल सरकारले अझ सकिरहेको अवस्था छैन ।
शिक्षा ऐनको लागि लाखौंलाख शिक्षकहरू सडकमा पुग्नुभयो । तर ऐन अहिलेसम्म आउन सकेको छैन । शिक्षण पेशा राम्रो हो, म शिक्षक हुँ, यस पेशाप्रति म गर्व गर्छु । शिक्षण पेशामा युवाहरूको आकर्षण बढ्नुपर्छ किनभने यहाँभित्र विद्यार्थीसँग पाउने सन्तुष्टि र आफूले जानेको कुरा विद्यार्थीहरूलाई कसरी सहजीकरण गर्ने र उहाँहरूमा भएको कुरा कसरी आफूले लिएर अझ सहज बनाइदिने भन्ने हुन्छ । जो कोहीलाई यो गाह्रो हुन्छ ।
सिक्ने र सिकाइने पेशा, शिक्षण पेशा हो ?
हो, यसमा सिक्ने/सिकाउने दुवै बराबरी हुन्छ । अहिलेको भनेको कृत्रिम बौद्धिकता (एआई)को जमाना हो । हामीभन्दा विद्यार्थीहरू आईसीटीमा स्मार्ट हुनुहुन्छ । कतिपय कुरा हामीभन्दा धेरै विद्यार्थीले जानेका छन् । कतिपय कुरा कसरी सहजीकरण गर्ने र विद्यार्थीमा राम्रो कुरा कसरी भरिदिने भन्ने कुरा शिक्षकले गर्नुपर्छ ।
नैतिक मूल्यमान्यता, अनुशासनका कुरा, कर्तव्यका कुरा, हिजोका संस्कार र संस्कृतिका कुरा कसरी विद्यार्थीलाई भरिदिने र पाठ्यक्रममा भएका कुरालाई कसरी विषयवस्तुसँग जोडिदिने, उहाँहरूको जीवनसँग कसरी जोडिदिने, व्यवहारिक जीवनसँग, सिकाइसँग कसरी जोड्ने भन्ने कुरा चाहिँ शिक्षकले अब सिकेर सिकाउनुपर्ने हुन्छ । तर विद्यार्थीलाई पहिले जस्तो बोर्डमा केही लेखिदिने र विद्यार्थीहरूलाई मैले भनेकै कुरा गर्नुहोस्, यही कुरा होमवर्कको रूपमा लेख्नुहोस्, यही कुरा क्लास वर्कको रूपमा लेख्नुहोस् भन्ने छैन । अब फरक भइसकेको छ । यही अनुसार हामीले सोच्नुपर्छ ।
स्मार्ट विद्यार्थीलाई सिकाउन शिक्षक पनि स्मार्ट हुनुपर्यो, यस्ता शिक्षक कति देख्नुभएको छ ?
सहरी क्षेत्रमा एकदमै स्मार्ट शिक्षकहरू धेरै पाइन्छ । यदाकदा ग्रामीण क्षेत्रमा पनि त्यस्ता शिक्षकहरू प्रवेश गर्नुभएको छ । तर अत्यन्त कम हुनुहुन्छ । जसले गर्दा शिक्षकभन्दा विद्यार्थीहरू स्मार्ट हुनुहुन्छ । स्मार्ट विद्यार्थीको मनोभावना बुझेर, उहाँहरूसँग भएको ज्ञानलाई हामीले फेरि त्यो एकनलेज गरेर, उहाँहरूकै नलेजलाई हामीले बुझी थप कुरा बुझाउन सक्नु चाहिँ हाम्रो शिक्षकको महत्त्वपूर्ण चुनौती हो । उक्त चुनौतीमा शिक्षकले आफूलाई अपडेट गर्नुपर्छ । आज म के विद्यार्थीहरूसँग सिकाउनेभन्दा पनि सहजीकरण गर्दैछु, विद्यार्थीलाई करिकुलमलाई के कुरा जोड्दैछु, उनीहरूको व्यवहारिक ज्ञानसँग के कुरा चाहिँ म थपिदिँदैछु भन्ने कुरालाई पूर्वतयारी गर्न आवश्यक छ । विद्यार्थीहरूको लागि उत्सुक वातावरण शिक्षकले नै सिर्जना गर्नुपर्छ ।

अब शिक्षकहरू परिवर्तन हुनुपर्यो र सिकाउने विधि पनि परिवर्तन हुनुपर्यो भन्ने हो ?
हो, तर यसका लागि शिक्षकहरूलाई तालिमको आवश्यक पर्छ । अहिले शिक्षकले पाइरहेको तालिम पर्याप्त छैन । तालिम नै छैन त मैले भन्दिनँ तालिम छ तर पर्याप्त छैन । अब तालिम डिजाइन गर्ने सम्बन्धित निकायले अब स्कुल–स्कुलमा गएर तालिम दिनुपर्छ । स्कुलमा जति शिक्षक छन् उहाँहरूको मागअनुसार तालिम दिनुपर्छ । स्रोतकेन्द्र स्तरमा गएर तालिम दिनुपर्छ । उहाँहरूलाई दैनिकभन्दा निरन्तर रूपमा अनुगमन संयन्त्र बनाउनुपर्छ, मूल्यांकनको संयन्त्र निर्माण गर्नुपर्छ । त्यो तालिमको रिफ्लेक्सन कसरी गरिरहनुभएको छ, कक्षाकोठामा रिफ्लेक्सन भएको छ कि छैन भन्ने कुरा हेरिनुपर्छ । तालिम लिएर मात्र पनि भएन, विद्यार्थीमा सकारात्मक परिवर्तन पनि आउनुपर्यो ।
अहिलेसम्म तपाईंको स्कुलमा अनुगमनको लागि अनुगमन टोली पुगेको छ ?
कहिलेकाहीँ आउनुहुन्छ, अनुगमन हुन्छ । काठमाडौं महानगरपालिकाभित्र चाहिँ विभिन्न कार्यक्रमहरू छन् । शिक्षामा सिर्जनात्मक सीप भनेर कार्यक्रम गरिरहेको छ । तर मैले समग्र देशको कुरा गरिरहेकी छु । समग्र देशका शिक्षकहरूलाई सहजीकरणको लागि सहायताको कुरा हुन्छ, तालिमका कुरा हुन्छ, अनुगमनका कुरा हुन्छ तर त्यहिमात्र पर्याप्त छैन ।
सामुदायिक विद्यालयको गुणस्तर नै खस्किएको भन्ने कुरा आइरहन्छ, के शिक्षकहरूले तालिम नपाएरै हो त ?
यसमा धेरै कुरा छन् । मैले नीलबाराही माध्यमिक विद्यालयलाई मात्र जोडिनँ । समग्र सामुदायिक विद्यालयलाई जोड्दा सबैभन्दा पहिले विषयअनुसारको दरबन्दी नै पर्याप्त रूपमा अपुग छ । जुन विद्यालयमा विषयगत दरबन्दी पुगेका छैन, त्यो दरबन्दीको फुलफिल हुनुपर्छ । दोस्रो नम्बरमा शिक्षकलाई आफ्नो पेशाप्रति दक्ष बनाउनको लागि तालिम एकदमै जरुरी छ । तेस्रो, विद्यालयको वातावरण राम्रो हुनुपर्यो । अहिले विविधतामा एकता छ । विविध प्रकारका विद्यार्थीहरू कक्षाकोठामा हुनुहुन्छ । उहाँहरूको रुचि फरक छ, क्षमता फरक छ । ती विविध प्रकारका विद्यार्थीहरूलाई सम्बोधन हुने किसिमका प्याकेजहरू ल्याउन जरुरी छ ।
एउटै करिकुलम छ, एउटै शिक्षक हुनुहुन्छ अनि पुरानै तरिकाले पढाइरहनुभएको छ, यसले पनि केही असहज भएको छ । एउटा कक्षाकोठामा ६०/६५ जनासम्म विद्यार्थी राखेर पढाउनुपर्ने वातावरण विद्यालयमा छ भने शिक्षकले विविधतामा ध्यान गाह्रो हुन्छ । कुनै विद्यालयमा विद्यार्थीभन्दा धेरै शिक्षक पनि हुनुहुन्छ । त्यसलाई सरकारले दरबन्दी मिलान गर्न, विद्यालय मर्जिङ गर्न सकिरहेको अवस्था छैन । ग्रामीण क्षेत्रमा विद्यालयको ठूलो जग्गा–जमिन छ, भवनहरूलाई व्यवस्थित गर्न सकेको छैन । भवन छ, फर्निचर छैन । फर्निचर छ, शौचालय छैन । सहरी क्षेत्रमा भवन छ, जग्गा छैन । दुई आनामा पनि विद्यालय छन्, तीन आनामा पनि विद्यालय छन्, चार आनामा पनि विद्यालय छन् । वास्तवमा एउटा माध्यमिक तहको विद्यालय सञ्चालन गर्न कति जमिन चाहिने त ? कति ठाउँ चाहिने जसले गर्दा कत्रा कक्षाकोठा, कस्तो चाहिने भन्ने म्यापिङ हुनुपर्यो । क्षेत्र निर्धारण गर्नुपर्यो । यति नहुँदासम्म सामुदायिक विद्यालयको गुणस्तर सोचेजति राम्रो हुँदैन ।
भौतिक पूर्वाधारदेखि लिएर दरबन्दीको कुरा नीलबाराहीमा चाहिँ कस्तो छ ?
नीलबाराही एउटा राम्रो विद्यालय हो । जमिन थोरै छ । लगभग तीन रोपनी जग्गा विद्यालयले ओगटेको छ । त्यति ओगट्दा पनि सबै छैन । बाटोतिर गएर सायद डेढ–दुई रोपनी जतिमा मात्र विद्यालय सञ्चालित छ । समुदायका धेरै व्यक्तिहरूले हामीलाई सपोर्ट गर्नुभएको छ । विद्यालयको खुला एरिया भएको हुनाले सुरक्षाको दृष्टिकोणले अलिकति समस्या भएको छ ।
हाम्रो भौतिक पूर्वाधारको क्षमताभन्दा धेरै विद्यार्थीहरू छन् । विद्यार्थीको रोजाइ, अभिभावकको रोजाइ हाम्रो विद्यालय हो किनभने यहाँ राम्रो पढाइ हुन्छ, व्यवहारिक शिक्षा दिइन्छ, शिक्षकहरूको टिम राम्रो छ । साथै सीपका कुराहरू, नैतिक मूल्य–मान्यताका कुराहरू, अनुशासनका कुराहरू, संस्कार र संस्कृतिका कुराहरू पनि पढाइ हुन्छ ।
अहिले विद्यार्थीको संख्या कक्षा १ देखि १२ सम्म कति छ ?
नीलबाराहीमा कक्षा १ देखि १२ सम्म करिब १ हजार विद्यार्थी छन् । अहिले कक्षा ११ मा भर्ना कार्यक्रम जारी छ । यति विद्यार्थीका लागि ५१ जना शिक्षक कर्मचारी हुनुहुन्छ । ११/१२ मा नेपाल सरकारले दुईवटा अनुदान दरबन्दीमात्र दिएको छ भने बाँकी विद्यालयले नै विषयगत शिक्षकहरू राखेको छ त्यसमा कक्षा १० सम्मको लागि शिक्षक र कर्मचारी सबै जोड्दा ३७ जना हुनुहुन्छ । त्योभन्दा बाँकी माथि कक्षा ११ र १२ को लागि हुनुहुन्छ ।
कक्षा ११ मा के–के विषय पढाइ हुन्छन् त ?
हामीकहाँ विज्ञानभन्दा बाहेक व्यवस्थापन, मानवशास्त्र, शिक्षा, कानुनका विषयहरू पढाइ हुन्छ अहिलेको विद्यार्थीहरूको रोजाइको विषय कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मास कम्युनिकेसन, ट्राभल एन्ड टुरिजम लगायतका विषयहरू विद्यार्थीले पढ्न पाउँछन् । यो बाहेक विद्यार्थीलाई जापानी भाषा र कोरियन भाषा पनि हामीले पढाउने गरेका छौं ।
विद्यालयमै कोरियन र जापानिज भाषा किन ?
हामीले कोर्सकै रूपमा यी विषयहरू पढाइराखेका छौं । यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग स्वीकृति पनि लिएका छौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति गरेका विषयहरू हुन् । किनभन्दा अहिले विद्यार्थीको रोजाइको विषय नै भाषा बनेको छ । कतिपय विद्यार्थीले यही भाषा सिक्नको लागि विद्यालय छोडिरहेका छन् । विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले यी विषयहरू पढाउन सुरु गरेको हो ।
कत्तिको आकर्षण छ यसमा विद्यार्थीहरूको?
विद्यार्थीको आकर्षण एकदमै धेरै छ । हामीले तीन ब्याच, चार ब्याच चाहिँ कोरियन र जापानी भाषा उतारिसक्यौं । अब यसपालि चाहिँ विद्यार्थीहरू कति ११ मा आउनुहुन्छ, कुन–कुन विषय रोज्नुहुन्छ भनेर हेर्न बाँकी नै छ ।
विद्यार्थीहरूको रोजाइ सामुदायिक भन्दा निजी किन हुन्छ ?
सबै विद्यार्थीको रोजाइ निजी विद्यालय नै हुन्छ भन्ने नै होइन । सामुदायिक पनि विद्यार्थीको रोजाइमा पर्छ । हामीले पनि अब विद्यार्थी लिन सकिँदैन भन्दै अभिभावकसँग माफी माग्नुपरिरहेको हुन्छ । तर अहिले काठमाडौं महानगरले सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई १० प्रतिशत निजीमा पढाउन छात्रवृत्ति दिने काम गरिरहेको छ । यसले गर्दा सामुदायिक विद्यालयका अब्बल विद्यार्थीको संख्या घट्न थालेको छ । यसले राम्रो र नराम्रो दुवै देखिएको छ । राम्रो पक्ष भनेको देशका प्रतिष्ठित भनिएका प्लस टु विद्यालयहरूमा निःशुल्क रूपमा पढ्न पाउने भए । नराम्रो पक्ष भनेको सामुदायिक विद्यालयका अब्बल विद्यार्थीहरू निजीमा जाँदा सामुदायिक विद्यालयमा अब्बल नहुने भए । यसले झन् सामुदायिक विद्यालयको गुणस्तर खस्किने चिन्ता थपिएको छ ।
कक्षा ११/१२ मा कति विद्यार्थीको सिट छ ?
हाम्रो क्षमता भनेको ११/१२ दुवै गरी चार सय विद्यार्थी पढाउने हो । त्योभन्दा बढी लिन सकिँदैन । अहिले भर्ना प्रक्रिया जारी रहेको छ । कति जना विद्यार्थी आउनुहुन्छ भन्ने यकिन छैन । हाम्रो स्कुल विद्यार्थीको रोजाइको विद्यालय हो । ११/१२ को नतिजा पनि उत्कृष्ट छ । कुनै पनि विद्यार्थीले असफलता भोग्नुपरेको अवस्था छैन । त्यसकारण पनि हाम्रो स्कुलमा विद्यार्थीको आकर्षण बढ्दो छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
कक्षाकोठाको रुचि अनुसार, उनीहरूको विद्यार्थीको रुचि, आवश्यकताअनुसार शिक्षा दिनलाई हामी समय–सान्दर्भिक रूपमा हामी शिक्षकहरू अपडेट हुनुपर्छ । आईसीटीमा अपडेट हुनुपर्छ, प्रविधिमा अपडेट हुनुपर्छ । हामीले नै विद्यालयमा सिकाइको वातावरण सिर्जना गर्नुपर्छ ।