काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको गाईपालक कृषक प्रोत्साहन अभियानलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । गाउँ कार्यपालिकाको निर्णयबमोजिम पहिलो बेत ब्याउने आफ्नै गोठमा जन्मिएर हुर्किएका गाईका लागि प्रोत्साहनस्वरूप प्रति गाई १० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने भएको हो ।
स्थानीय गाईको संरक्षण होस् र गाईका बाच्छी हुर्काउने प्रचलन बढोस् भनेर कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त योजना ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले जानकारी दिए ।
पालिकाले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी आर्थिक वर्ष २०८२/८३ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त प्रोत्साहन कार्यक्रम सार्वजनिक गरेको हो । पालिकाले २०८२ साउन १ गतेदेखि २०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा १० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सार्वजनिक सूचना जारी गरेको छ ।
प्रोत्साहन स्वरूपको उक्त रकम प्राप्त गर्नका लागि कृषकले आफूले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनुपर्ने भुसालले बताए ।
अनुदान प्राप्त गर्नका लागि कृषकले पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको बेहोरा उल्लेख गरिएको कम्तीमा तीन जना छिमेकीको हस्ताक्षर लगायतको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने उनले जानकारी दिए ।
भुसालका अनुसार गाई किसानकै घरमा जन्मिएको हुनुपर्नेछ । र उक्त प्रोत्साहन रकम प्राप्त गर्न भेटेरिनरी प्राविधिक र वडाको सिफारिससहित आफ्नो बैंक खाता पनि निवेदनका साथ राख्नुपर्ने छ ।