काठमाडौं । शक्तिशाली देशको राष्ट्रपतिको एउटा पोस्टले संसारकै लोकप्रिय पेयपदार्थ कोकको स्वादमा नयाँ मोड ल्याएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मिडियामा ‘मेक कोक रियल अगेन’ भन्दै पोस्ट गरेका थिए । कम्पनीले उक्त प्रस्ताव स्वीकार्दै उखुको चिनीबाट बनेको नयाँ कोक ल्याउने तयारी गरेको हो ।
उनले कोका-कोला कम्पनीलाई आफ्नो क्लासिक पेयभित्र प्रयोग हुने हाई‑फ्रुक्टोज कर्न सिरप (एचएफसीएस) हटाएर उखुको शुद्ध चिनी मिसिएको नयाँ संस्करण तयार पार्न बाध्य बनाएका हुन् ।
कम्पनीले पनि पुष्टि गरेको छ कि चाँडै नै उखुबाट बनेको कोक अमेरिकी बजारमा ल्याइनेछ । विश्वका केही देशमा पहिले नै यस्तो प्रकारको कोक बिक्री हुँदै आएको भए पनि अमेरिकामा भने यो पहिलोपटक हुनेछ ।
कम्पनीका अनुसार यो नयाँ कोकले उपभोक्तालाई थप विकल्प दिनेछ । मानिसहरू आफ्नो रुचिअनुसार छनोट गर्न सक्नेछन् । कम्पनीका सीईओ जेम्स क्विन्सीले अपेक्षा गरेका छन् कि यो पेयले बजारमा राम्रो प्रतिक्रिया पाउनेछ ।
उनले पत्रकारहरूसँग भने, ‘हामी उपभोक्तालाई बढी विकल्प दिने यात्रा अघि बढ्दैछौं । उखुबाट बनेको चिनी मिश्रित कोक अमेरिकामा पहिलोपटक ल्याउन पाउँदा उत्साहित छौं ।’
उनका अनुसार कम्पनीले अमेरिका भित्र बिक्री हुने अन्य केही पेयपदार्थजस्तै लेमोनेड र कफीमा पहिलेदेखि नै उखुको चिनी प्रयोग गर्दै आएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका स्वीटनर प्रयोग गरेर उपभोक्तालाई फरक स्वादको अनुभव दिन खोजिएको हो ।
रेसिपी भने पुरानै
कम्पनीले कोकको मूल रेसिपीमा भने कुनै परिवर्तन नगर्ने जनाएको छ । अर्थात्, पुरानो कोकमा उच्च फ्रुक्टोज कर्न सिरप नै रहनेछ । कम्पनीले उखुको चिनीबाट अलग नयाँ कोक बनाउने हो ।
ट्रम्प प्रशासनका स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ केनेडी जुनियर भने उच्च फ्रुक्टोज कर्न सिरपको विपक्षमा छन् । उनी भन्छन्, ‘अमेरिकी खानपानबाट कृत्रिम र अत्यधिक प्रशोधित सामग्री हटाइनु पर्छ ।’
एक पोडकास्टमा उनले भनेका थिए, ‘उच्च फ्रुक्टोज कर्न सिरपले मानिसलाई मोटोपन र मधुमेह ९डायबिटीज० तिर लैजान्छ ।’
किनभने यो सस्तो पर्छ, त्यसैले कोका–कोलाले वर्षौं पहिले नै यसको प्रयोग थालेको थियो ।
तर स्वास्थ्य विशेषज्ञहरूको चेतावनी के छ भने- कोकजस्तो पेयमा जुनसुकै प्रकारको चिनी भए पनि त्यो स्वास्थ्यका लागि राम्रो हुँदैन । उनीहरू भन्छन्, ‘सरकारको प्राथमिकता चिनीको प्रयोग घटाउनेतर्फ हुनुपर्छ ।’