जुलाई २६ देखि सांग्रिला संवाद सुरु हुने

काठमाडौं । पठन संस्कृति अभिवृद्धि गर्ने र साहित्य तथा कलामाथि छलफल गर्ने उद्देश्यले सांग्रिला लिटरिचर फेस्टिबलले मासिक रुपमा सांग्रिला संवाद गर्ने भएको छ । संवाद जुलाई महिनाबाट आयोजना गर्ने घोषणा गरेको छ । 

सुरुवाती संवाद मोक्ष बार एण्ड रेस्टुरेन्ट, झम्सिखेलमा जुलाई २६ का दिन सुरु हुनेछ । फेस्टिबलका निर्देशक केन सुवेदीले जारी गरेको प्रेस वक्तव्यअनुसार प्रथम संवाद कविताप्रति समर्पित हुनेछ । 

वक्तव्यमा लेखिएको छ, ‘संवाद कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवससँग कवि रमेश क्षितिजबीच वार्तालाप रहेको छ ।’

उक्त वार्तालापमा दिवसको साहित्यिक जीवन र त्यसमा गरेका समर्पण साथै संस्कृति विकासमा कविताको भूमिकामाथि छलफल गरिने जानकारी समावेश छ ।

अन्तरक्रियापश्चात, कविता वाचन सत्र सुचारु हुनेछ जसमा वरिष्ठ र युवा कविहरूले आफ्ना उत्कृष्ट कविता वाचन गर्नेछन् । कविहरू अविनास श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, गिता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शाकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती, सबिता गौतम दाहाल र दीपक सापकोटाले आफ्ना कविताहरू सुनाउने छन् ।

कार्यक्रमको उद्घाटन तुलसी दिवसले गर्ने छन् । अन्तरक्रिया, किताब विमोचन, पठनका लागि साथै समग्र लेखन पठन संस्कृतिको वृद्धि विकासको लागि कार्यक्रम मासिक रुपमा आयोजना गरिने प्रेस वक्तव्यमा लेखिएको छ ।

Share News