नाइमा मोबिलिटी एक्स्पो २०२५ मा ‘जेको जे-५’ इभी सार्वजनिक हुने

काठमाडौं । ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे-५’ सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ यो प्रिमियम एसयुभी ल्याउन लागेको हो । 

कम्पनीका अनुसार जे-५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध हुनेछन् । 

यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । 

कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ। जे-५ को लम्बाई ४३८० मिमी, चौडाई १८६० मिमी, उचाई १६५० मिमी छ र यसमा १८ इन्चको एलोय ह्विल प्रयोग गरिएको छ ।


एसयुभीको भित्री भागमा भेन्टिलेटेड सिट, डिजिटल इन्सट्रुमन्ट क्लस्टर, र २५६-कलर एम्बिएन्ट लाइटिङ जस्ता प्रविधि समावेश छन् ।  यसमा १३२० मिमी चौडा दोस्रो पङ्क्तिको सिट रहेको कम्पनीले जनाएको छ । सामान राख्नका लागि ४८० लिटरको बुट स्पेस र ३६ वटा स्टोरेज कम्पार्टमेन्टहरू उपलब्ध छन् । 

सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको बताइएको छ ।

जेको जे-५ को सार्वजनिकसँगै एसपिजि अटोमोबाइल्सले नेपालमा आफ्नो इभी लाइनअपलाई थप बलियो बनाउनेछ । कम्पनीले यसअघि नै ओमोडा इ-५ र जेइको जे-६ इभी पनि बजारमा ल्याउने घोषणा गरिसकेको छ। 

पर्फर्मेन्स, प्रविधि र लक्जरी सुविधासहितको जे-५ ले नेपाली बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । यो ईभी नेपाल आइपुगेको छ । नेपाल आएको जेको जे-फाइभको मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ ।

Share News