काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गरेका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे । उनले एक पछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेको भन्दै भ्रष्टहरुले देशमा शासन गरिरहेको बताए । देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको जानकारी दिए ।
भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताए । हरेक दिन २५ सय नेपालीहरु विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै प्रश्न गरे ।
नेता खनालले भने, ‘अहिले कस्तो सरकार बनिरहेको छ । के गरिरहेको छ । जनताको हितमा । कम्युनिष्ट पार्टीको सरकार छ । तर पुँजीवादी जनवाद स्थापना भयो । बहुदलीय जनवाद स्थापना भयो । त्यसले हामीलाई दलाल पुँजीवादतर्फ लग्यो । राजनीतिक संकट हरदिन गहिरिएको छ । दुई वटा हात्ती जस्ता पार्टीहरु छन्, सत्तामा । कमिलो पनि मार्दैनन् । हात्ती जस्ता पार्टीहरुले । पुँजीवादी जनवादले गरेको काम र प्रगति ? व्यवहारमा यही कुरा देखिरहेका छौँ ।’
नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिष्ट आन्दोलन भड्किएको बताए । ०६२/०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको बताए ।