काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा विद्युतीय तथा इन्धन दुवै प्रकारका सवारीसाधनको आयातमा वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार प्यासेन्जर ईभी गत आर्थिक वर्ष (आव) २०८०/८१ मा विद्युतीय प्यासेन्जर गाडीको आयात अघिल्लो आवको तुलनामा १४ प्रतिशतले बढेको छ ।
यस अवधिमा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरका कुल १३ हजार ५ सय ७८ युनिट प्यासेन्जर ईभी आयात भएका छन् । यसबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
अघिल्लो आव २०७९/८० मा ११ हजार ७ सय १ युनिट आयात भएका थिए । कमर्सियल ईभीको आयात अघिल्लो वर्षको तुलनामा गत वर्ष ७३ प्रतिशतले बढेको छ ।
गत आवमा ८ अर्ब ६ करोड रुपैयाँ बराबरका ३ हजार ८ सय १३ युनिट कमर्सियल ईभी भित्रिएका छन् । यसबाट सरकारले २ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष १ हजार ५ युनिट मात्र कमर्सियल ईभी आयात गरिएको थियो ।
यस्तै, बाइक र स्कुटरको आयात ३४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँ बराबरका २ लाख १ हजार युनिट बाइक र स्कुटर आयात भएका छन् । यसबाट सरकारले २४ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष १ लाख ३४ हजार ५ सय ५६ युनिट आयात गरिएको थियो ।
इलेक्ट्रिक पावरट्रेन भएका दुई तथा तीनपाङ्ग्रे सवारीसाधन २९ हजार ४ सय ३७ युनिट आयात भएका छन्, जसको मूल्य २ अर्ब ९६ करोड रुपैयाँ बराबर छ । यसबाट सरकारले १ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष यस्ता सवारीसाधन २० हजार ७ सय ४ युनिट आयात भएका थिए ।
यस्तै, गत आर्थिक वर्षमा ८४ करोड रुपैयाँ बराबरका ४ हजार २ सय १२ युनिट तीनपाङ्ग्रे सवारीसाधन आयात भएका छन् । अघिल्लो वर्ष यो संख्या १ हजार ७ सय १६ युनिट थियो ।
यसैगरी इन्धनबाट चल्ने प्यासेन्जर गाडीको आयात पनि बढेको देखिएको छ । गत आवमा ६ अर्ब ९३ करोड रुपैयाँ बराबरका ४ हजार ९ सय ७८ युनिट गाडी आयात भएका छन् । यसबाट सरकारले १६ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो वर्ष ४ हजार २ सय ४६ युनिट इन्धन प्यासेन्जर गाडी आयात भएका थिए । यस्तै, इन्धनबाट चल्ने कमर्सियल गाडीतर्फ ७ अर्ब २८ करोड रुपैयाँ बराबरका ४ हजार २ सय ३७ युनिट आयात भएका छन् । यसबाट सरकारले ७ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।