काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २८ सय ९२ बिन्दुमा पुगेको छ ।
आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ ।
सोमबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । बजारको आकारमा नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो । यस्तै, नेप्से परिसूचक पनि ११ महिनायताकै उच्च हो ।
साेमबार सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड, बुटवल पावर कम्पनीको ५६ करोड, फस्ट माइक्रो फाइनान्स लघुवित्तको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.४२, लघुवित्त १.९३, निर्जीवन बीमा १.२७ र अन्य समूह १.८४ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ ।
आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावरको ९.९९, ट्रेड टावर र सानभी इनर्जीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।