काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेक एक्सस् एलिभेट २०२५’ नामक चारदिने प्रविधि महोत्सव उत्साहजनक रूपमा सम्पन्न भएको छ । असार ३२ देखि श्रावण ३ गतेसम्म सञ्चालित उक्त कार्यक्रमले प्रविधि, उद्यमशीलता र प्रेरणालाई एउटै मञ्चमा समेट्दै युवा पुस्तालाई नवीन सोच र आत्मविश्वासको सन्देश दिएको छ ।
करीब १० हजारभन्दा बढी आगन्तुकहरूको सहभागिता रहेको महोत्सवमा ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी चर्चित कन्टेन्ट क्रिएटरहरूसँगको प्रत्यक्ष संवादले वातावरणलाई जटिल नभई जिज्ञासुपूर्ण बनायो ।
कार्यक्रममा विद्यार्थीहरूले विकास गरेका २० भन्दा बढी प्रविधिमूलक प्रोजेक्टहरू जस्तै ‘करुणा’, ‘मिरा’, ‘स्टडीसेन्स’, ‘तोमात्रों’, ‘फिसअवेर’, ‘फ्लिप आरएफआईडी’, ‘केम्ल्याब भीआर’ आदिले दर्शकहरूको ध्यान खिचे। ती इनोभेसनहरूले शिक्षा, कृषि, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा प्रविधिको सम्भावनालाई उजागर गरे।
आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोईराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता विशेषज्ञहरूले अनुभव साटे । २५ भन्दा बढी स्टार्टअप आइडिया पिच गरिएका भीसी सत्रमा ७ भन्दा बढीमा लगानीकर्ताहरूले चासो देखाएका थिए । कलेजले उत्कृष्ट स्टार्टअपहरूलाई लक्षित गर्दै १ करोड रुपैयाँ लगानी गर्ने घोषणा समेत गर्यो ।
नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायत प्रेरक व्यक्तित्वहरूले ‘इन्स्पायर टक’ सत्रमा इमान, अनुशासन र राष्ट्रप्रेमबारे विचार राखे । जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जसमा ५०० भन्दा बढी सहभागीले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शका अवसर पाए ।
‘आइरन क्लाश’ नामक रोबोट युद्ध प्रतियोगिता कार्यक्रमको विशेष आकर्षण बन्यो। विद्यार्थीहरूले दुई वर्षदेखि निर्माण गरेका रोबोटहरूको रोमाञ्चक भिडन्तमा विजेता समूहलाई ३ लाख बराबरको पुरस्कार प्रदान गरियो ।
१५ भन्दा बढी चर्चित डिजिटल इन्फ्लुएन्सरहरूको सहभागिताले युवामाझ डिजिटल सम्भावनाबारे नयाँ सोचको ढोका खोल्यो । सविन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक), सजिना खनाललगायतले सामाजिक सञ्जालमा सकारात्मक प्रभावको सम्भावनाबारे चर्चा गरे ।
कार्यक्रमको समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्सस् एलिभेट’ केवल प्रविधिको प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको संगम भएको स्पष्ट गर्यो । कलेजले नेपाली युवालाई विश्वस्तरीय प्रविधि सीप, सोच र आत्मविश्वास प्रदान गर्दै ग्लोबल प्रतिस्पर्धाका लागि तयार पार्ने प्रतिबद्धता दोहोर्यायो ।
चार दिनको कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ । अब प्रविधिको यात्रा नेपाली युवाहरूको हातमा सुरक्षित छ, र उनीहरू आत्मविश्वासका साथ भविष्यको नेतृत्व गर्न तयार छन् ।