परीक्षा भएको २४ घण्टा नबित्दै काठमाडौं महानगरले निकाल्यो कक्षा ११ र १२ को छात्रवृत्तिको नतिजा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार, मिति २०८२/०४/०३ गते शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनु भएको थियो । जसमध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ । उत्तीर्ण हुन न्यूनतम ४० अङ्क (४०%) आवश्यक थियो र ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घन्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताए । ‘शिक्षा विभागले जुन चित्त लगाएर काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। एक महिना भन्दा अघिदेखि निरन्तर खटिएर चौबीस घन्टामै नतिजा प्रकाशित गर्न सकियो। यो हाम्रो समर्पण र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रमाण हो। समावेशीकरणलाई सुनिश्चित गर्ने स्कलरसिप प्रणालीलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्दै आएका छौं’, उनले भने ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० ओटा बहुवैकल्पिक प्रश्नहरू समावेश थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कनको व्यवस्था थिएन ।

देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट हुनुभएको थियो । तीमध्ये १४,१७३ जनाले परीक्षामा भाग लिनु भएको थियो ।

नतिजा ओएमआर (अप्टिकल मार्क रिकग्नेशन) प्रणालीमार्फत जाँच गरिएको छ । यो प्रणालीले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले बताए ।

नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ।

विद्यार्थीहरूले आफ्नो SEE को सिम्बोल नम्बर, जन्म मिति र इमेल वा मेसेज मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् । काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजार भन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन्।

Share News