ओलीले विद्यासँग राख्दैछन् कार्यवाहक अध्यक्षको प्रस्ताव, सदस्यता नवीकरणबारे अधिवक्तासँग परामर्श

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज (आइतबार) भेटवार्ता हुँदैछ । उनीहरुबीच एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो। 

भेटवार्तामा पार्टी भित्रको शक्ति सन्तुलन, विधान संशोधन, र भण्डारीको राजनीतिक भूमिकाबारे निर्णायक छलफल हुने एमालेका शीर्ष नेताहरूको भनाइ छ । 

एमाले विश्वसनीय स्रोतका अनुसार भेटका सम्भावित मुख्य एजेण्डामा भण्डारीको सदस्यता नवीकरणको औपचारिकता टुंग्याउने गरी ओली भण्डारीबीच छलफल हुनेछ ।  भण्डारीले गत महिना एमालेको सदस्यता नवीकरण गरेकी थिइन् । तर, पार्टीले त्यसलाई औपचारिक मान्यता दिन बाँकी छ । 

ओलीले यस विषयमा स्पष्ट निर्णय लिन केही वरिष्ठ अधिवक्ताहरूसँग सल्लाह समेत सुरु गरेको ओली निकट स्रोतको दाबी छ । भण्डारीको आगामी राजनीतिक भूमिकाको विषयमा पनि आज ओली र भण्डारीबीच छलफल हुने विश्वस्त स्रोतको भनाइ छ । 

ओली निकट स्रोतका अनुसार आसन्न भारत भ्रमणपछि विद्यालाई पार्टीको जिम्मेवारीमा ल्याउने तयारी ओलीको छ । भण्डारीलाई पार्टीको आगामी महाधिवेशनमा के भूमिका दिने भन्नेबारे छलफल हुने सम्भावना बलियो  रहेको स्रोतको भनाइ छ ।
 
भण्डारी आगामी महाधिवेशनमा अध्यक्षको प्रत्यासी बन्ने तयारीमा छिन् । तर, ओली भने उनलाई उपाध्यक्ष पदमा ल्याएर भावी नेतृत्वको रूपमा उभ्याउने  वा  ‘वरिष्ठ नेताको’ भूमिकामा राख्ने र महाधिवेशन पछि कार्यवाहक अध्यक्ष बनाउनेसम्मको तयारीमा रहेको बुझिएको छ । 

भण्डारी निकट स्रोत भने आज नै सबै विषयमा निर्णय हुने सम्भावना कम रहेको बताउँछ । भण्डारी पार्टी भित्रको आफ्नो शक्ति पहिचान गरेपछि मात्रै निर्णायक वार्ता गर्ने मनस्थितिमा छिन । सम्भवतः आज यी विषयमा कुरा उठे पनि वार्ताको फोकस भने  विधान संशोधन,  उमेर सीमा हटाउने  र दुई कार्यकालको प्रस्तावमै सहमति खोजिने प्रयास हुने ओली निकट स्रोतको दाबी छ । 

एमालेको हालको विधानले अध्यक्ष बन्ने उमेर सीमा ७० वर्ष तोकेको छ । यसलाई हटाउने विषयमा ओली  लागेका छन भने  भण्डारी उमेरहद र दुई कार्यकालको सीमा हटाउन नहुने पक्षमा छिन । 

Share News