समृद्धि र पोखरा फाइनान्सबीच मर्जर समझदारी, नयाँ संस्था पोखरा फाइनान्सका नाममा अघि बढ्ने

पोखरा । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच एकापसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार बिहान ८:३० बजे पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारी अनुसार समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीच एक सेयर बराबर एक सेयरको स्वाप अनुपात कायम हुनेछ । मर्जरपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ ।

संयुक्त संस्थाको सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना प्रतिनिधित्व गर्नेछन् । अध्यक्ष पदमा समृद्धि फाइनान्सका प्रतिनिधि रहनेछन् ।

सम्झदारीपत्रमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका मर्जर समिति संयोजक सुदीप घिमिरे र पोखरा फाइनान्स लिमिटेडका मर्जर समिति संयोजक तिल बहादुर गुरुङले संयुक्त रूपमा हस्ताक्षर गरे ।

सम्झदारीले संयुक्त संस्था सबल, सक्षम र प्रतिस्पर्धी वित्तीय संस्था बन्ने अपेक्षा गरिएको छ । यसले नेपाल राष्ट्र बैंकको मर्जर प्रवर्द्धन गर्ने नीतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । संस्थापक तथा सर्वसाधारण शेयरधनीहरूको हित सुरक्षित रहने र समग्र देशको वित्तीय प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ ।

Share News