भावना घिमिरे लुम्बिनी लायन्सको सीईओमा नियुक्त

काठमाडौ । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ ।

उनी पूर्व क्यान सीईओसमेत हुन् । उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् ।

यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने छ भन्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने कम्पनीले जनाएकाे छ ।

भावना घिमिरेको नियुक्तिको विषयमा आफ्नो प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, 'हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने मलाई लागेको छ ।'   

Share News