जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्‍याउँदै दिगो

काठमाडौं । दिगो ग्रुप अफ कम्पनीले पहिलो पटक जुम्लामा ९ वटा डीएफएसके डाफे विद्युतीय भ्यान हस्तान्तरण गरेको छ । यो उपलब्धिले ग्रामीण भेगमा विद्युतीय सवारी पुर्याउँदै स्वच्छ ऊर्जा, दिगो यातायात र प्रदूषण न्यूनीकरणतर्फको प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ ।

यी विद्युतीय भ्यानहरू जुम्लाका छोटो दूरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछन्, जसले यात्रुहरूलाई शान्त, स्वच्छ र किफायती यात्रा सुविधा दिनेछ । साथै, इन्धनमा निर्भरता घटाउनुका साथै वायु प्रदूषण न्यूनीकरणमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

चार्जिङ पूर्वाधार विकासलाई ध्यान दिँदै, दिगोले ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामै जडान गर्दैछ । साथै, आगामी दिनमा चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा-गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना रहेको छ ।

दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ भन्छन्, 'जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउनु हाम्रो लागि गर्वको कुरा हो । यस उपलब्धिले विद्युतीय सवारीसाधनको सम्भावनालाई पुष्टि गरेको छ। आगामी दिनमा हामीले देशभरि यसको पहुँच विस्तार गर्दै लैजानेछौं ।'

दिगोले ‘मिसन जेरो एमिसन’ भन्ने अभियानअन्तर्गत विद्युतीय सवारीसाधनको सम्पूर्ण इकोसिस्टम निर्माण गरिरहेको छ । जहाँ बिक्री, वितरण, सर्भिस, स्पेयर पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधारदेखि राजमार्गका लागि आधुनिक रेस्ट स्टपको व्यवस्थासम्म समेटिएको छ ।

स्वच्छ ऊर्जा र आधुनिक प्रविधिको प्रयोगमा समर्पित दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्यतर्फ डोर्याउने लक्ष्य राखेको छ ।

Share News