काठमाडौं । अल्फाविटा ग्रुपले झापाको अर्जुनधारा नगरपालिकास्थित सालवारीमा ‘सालवारी हेरिटेज होम्स’ सुरु गरेको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको समारोहमार्फत परियोजनाको औपचारिक उद्घाटन गरिएको हो ।
कार्यक्रम अल्फाविटा ग्रुपका अध्यक्ष द्विराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य प्रमुख अतिथि थिए । साथै, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
‘सालवारी हेरिटेज होम्स’ केवल एक निर्माण परियोजना मात्र नभई झापा आन्दोलनको ऐतिहासिक गौरव र सहिदहरूको सम्मानमा समर्पित सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा प्रस्तुत गरिएको छ ।
यस परियोजनाले सालवारीको ऐतिहासिक गाथालाई उजागर गर्नुका साथै झापा आन्दोलनको ५० वर्षको स्मृतिलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ । १० कोठाको आधुनिक भवन, स्विमिङ पुल, झापा आन्दोलनसम्बन्धी संग्रहालय, प्रदर्शनी कक्ष लगायतका संरचनाले परियोजनालाई आकर्षक बनाएका छन् ।
अल्फाविटा ग्रुपले यसलाई केवल पर्यटकीय स्थलमा सीमित नराखी सामाजिक र आर्थिक विकासको केन्द्रको रूपमा पनि विकास गर्ने लक्ष्य राखेको छ। भविष्यमा कृषि, ऊर्जा, पर्यटन, शिक्षा, रोजगारमूलक तालिम र स्वरोजगारका अवसरहरू समेत विस्तार गरिने योजना सार्वजनिक गरिएको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरूले सालवारी हेरिटेज होम्सलाई झापा आन्दोलनको क्रान्तिकारी चेतना, सहिदहरूको बलिदान र सांस्कृतिक जागरणको प्रतीकका रूपमा उल्लेख गरेका थिए । यस पहलमार्फत सालवारीलाई राष्ट्रियस्तरको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य बनाउने विश्वास गरिएको छ ।
