काठमाडौं । होटल संघ नेपालले नेपाल सरकार र इन्स्योर परियोजनाको सहकार्यमा मानव संशाधन सम्मेलन-२०२५ (एचआर मिट) मंगलबार काठमाडौंमा सम्पन्न गरेको छ।
कार्यक्रममा मुलुकमा तीव्र रूपमा वृद्धि भएको तारे होटलहरूको संख्या, भारतीय तथा चिनियाँ पर्यटकको बढ्दो आगमन र वैदेशिक रोजगारीतर्फ आकर्षणले उत्पन्न गरेको जनशक्ति संकटबारे गम्भीर छलफल भएको थियो । अतिथ्य क्षेत्रमा स्तरीय सेवा प्रवाहका लागि दक्ष जनशक्ति र उत्पादकत्व वृद्धिमा राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ ।
संघका अध्यक्ष विनायक शाहले होटलहरू अझै पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा पनि जनशक्ति अभाव हुनु विडम्बना भएको उल्लेख गरे । उनले यही विषय उजागर गर्न सम्मेलन आयोजना गरिएको बताए ।
सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले समय सापेक्ष तथा मागअनुसारको पाठ्यक्रम विकासमा निजी क्षेत्रको सहकार्य अपेक्षित रहेको बताए । कार्यक्रममा होटल संघका कानुनी सल्लाहकार गान्धी पण्डितले आतिथ्य उद्योगसँग सम्बन्धित नीति, कानुन र औद्योगिक प्रक्रियाबारे प्रस्तुति दिए । इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहले औद्योगिक प्रशिक्षार्थी सम्बन्धी दृष्टिकोण राखे ।
प्यानल छलफलको सञ्चालन संघका कोषाध्यक्ष युवराज श्रेष्ठले गरेका थिए । छलफलमा शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, सीटीईभीटी, निजी क्षेत्र तथा नाथम प्रतिनिधिहरूले सहभागिता जनाए । उनीहरूले दक्ष जनशक्ति अभाव, वैदेशिक इन्टर्नसिप र पाठ्यक्रम अद्यावधिक सम्बन्धी विविध पक्षमा आ-आफ्नो धारणा प्रस्तुत गरे ।
सम्मेलनको निष्कर्षस्वरूप आतिथ्य उद्योगमा संलग्न एचआर व्यवस्थापकहरूको ‘एचआर क्लब’ गठन गर्ने निर्णय गरिएको छ, जसले मानव संसाधनको विकास र विस्तारमा एकीकृत ढंगले काम गर्ने अपेक्षा गरिएको छ ।