इलेक्ट्रिक सवारीको गन्तव्य बन्दै बुटवल, शशीला मोटर्सले सुरु गर्‍यो देशकै ठूलो चार्जिङ स्टेशन

काठमाडौं । शशीला मोटर्सले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको नेपालकै सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । एकै पटक १४ वटा गाडी चार्ज गर्न सकिने १००० केभीए क्षमताको यो स्टेशन देशमा हालसम्मको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार हो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मंगलबार उक्त चार्जिङ स्टेशनको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै प्रमुख खाँणले विद्युतीय सवारीको प्रवर्द्धन समयको माग भएको उल्लेख गर्दै यस्ता पूर्वाधारहरूले नेपाललाई हरित यातायाततर्फ डोर्याउने विश्वास व्यक्त गरे । 'निजी क्षेत्रको यस्तो अग्रसरता दिगो विकासमा टेवा पुर्याउने अत्यन्त सराहनीय पहल हो,' उनले भने ।

शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हाल नेपालमा इभीको प्रयोग उल्लेख्य रूपमा बढेको भए पनि आवश्यक चार्जिङ पूर्वाधारको अभाव रहेको जनाउँदै, उक्त कमीको समाधानका लागि आफूहरूले यो पहल गरेको जानकारी दिए । 'यो स्टेशन केवल व्यवसायिक दृष्टिकोणले नभई वातावरणीय उत्तरदायित्वका हिसाबले पनि स्थापना गरिएको हो,' खतिवडाले भने ।

null

उनका अनुसार यो स्टेशनमार्फत इलेक्ट्रिक बस, कार, भ्यान लगायत सबै प्रकारका इभीहरूले द्रुत, भरपर्दो र प्राविधिक रूपमा सुरक्षित सेवा पाउनेछन् । उनले निकट भविष्यमा देशका अन्य क्षेत्रहरूमा पनि यस्तै स्टेशन स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायीका अध्यक्ष दधिराम खरेलले इभी सञ्चालनका लागि चार्जिङ स्टेशन र वर्कशप अपरिहार्य रहेको उल्लेख गर्दै, आफ्नो संस्थाको निरन्तर प्रयासमा शशीला मोटर्सले यो परियोजना कार्यान्वयनमा ल्याएको बताए ।

शशीला मोटर्सको यो पहलकदमीले विद्युतीय सवारी क्षेत्रको भविष्य निर्माणमा निजी क्षेत्रको भूमिकालाई बलियो बनाउनुका साथै नेपालको वातावरणीय दिगोपन र स्वच्छ यातायात प्रणालीमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

Share News