काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एकदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कक्षा ५ देखि १० सम्मका शिक्षक–शिक्षिकालाई लक्षित यो तालिम शिक्षालाई प्रविधिमैत्री बनाउने दीर्घदृष्टिमा केन्द्रित थियो ।
कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणाले गरेकी थिइन् । उनले प्रविधिसँग कदम मिलाएर हिँड्न एआईजस्तो विषयमा शिक्षकहरूलाई दक्ष बनाउन तालिम अपरिहार्य भएको बताइन् ।
शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाहीले शिक्षाको गुणस्तर वृद्धि र नीतिगत मार्गचित्र निर्माणमा एआई पाठ्यक्रम महत्वपूर्ण माध्यम बन्ने बताए । प्रमुख वक्ता प्रा.डा. सुदन झाले एआईलाई डराउने होइन, सहयोगी औजारको रूपमा बुझ्नुपर्ने धारणा राखे।
आईएनजी ग्रुपका सीईओ सुलभ बुढाथोकीले शिक्षकहरू एआईप्रति सशक्त भए मात्र भविष्यका लागि सक्षम विद्यार्थी उत्पादन सम्भव हुने बताए ।
तालिममा सहभागी प्रतीक सुवेदीले एआईजस्तो जटिल विषयलाई सहज र व्यावहारिक ढंगले प्रस्तुत गरिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव प्रतापबहादुर थापाले गरेका थिए ।