काठमाडौं । होटल म्यानेजमेन्ट वा शैक्षिक क्षेत्रमा सिन्धुली कलेजको नाम नसुन्ने सायद कमै होलान् । सिन्धुलीमा मात्र नभई काठमाडौं उपत्यका र देशैभर होटल म्यानेजमेन्टका क्षेत्रमा यसले आफ्नै पहिचान बनाएको छ । यसको उत्कृष्ट कार्यका कारण देशभर चर्चा हुने गरेको पाइन्छ ।
उत्कृष्ट नतिजा ल्याउन सफल यो कलेज अधिकांश विद्यार्थीको रोजाइमा पर्न थालेको छ । समयानुकूल शिक्षा प्रदान गर्दै आएको सिन्धुली कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक तथा प्रयोगात्मक सिकाइमा पनि जोड दिँदै आएको छ । यही सन्दर्भमा कलेजका प्रबन्ध निर्देशक समीर ढकालसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ :
सिन्धुली कलेज कहिले स्थापना भएको हो ?
सिन्धुली कलेज २०७५ साल साउन ३१ गते स्थापना भएको हो । यो जनकपुर अञ्चल र सिन्धुली जिल्लाको पहिलो होटल म्यानेजमेन्ट कलेज हो । स्थापना हुँदा जम्मा १० जना विद्यार्थीबाट सुरू गरिएको थियो ।
विद्यार्थीले सिन्धुली कलेज नै किन रोज्छन् ?
सिन्धुली यस्तो क्षेत्र हो जहाँका मानिसहरूले शिक्षा जत्तिकै सीपलाई पनि महत्व दिन्छन् । यहाँको ऐतिहासिक र भौगोलिक विशेषता, बढ्दो पर्यटक संख्या, प्राविधिक शिक्षामा देखिएको चासो र होटल तथा आतिथ्य क्षेत्रको विस्तारका कारण दक्ष जनशक्तिको खाँचो महसुस भयो । त्यसैले यो कलेज स्थापना गरिएको हो । यसमा सिन्धुलीको शिक्षा क्षेत्रका अग्रजहरूको समेत ठूलो भूमिका रहँदै आएको छ ।
कलेज स्थापना गर्दा के–कस्ता चुनौतीहरू भए ?
हामी चुनौतीलाई सकारात्मक रूपमा लिन्छौं । सुरुवातमा होटल म्यानेजमेन्टलाई धेरैले भाँडा माझ्ने, फोहर उठाउने पेशाजस्तो सोच्थे । तर अहिले आफ्नै गाउँ–छिमेकका विद्यार्थीहरूले यसै क्षेत्रबाट आर्थिक सफलता हासिल गर्दै गर्दा ती भ्रम चिर्दै गएका छन् । होटल म्यानेजमेन्ट वास्तवमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, स्पा, क्रुज, एयरलाइन्स आदि विविध र सम्मानजनक क्षेत्रहरूको व्यवस्थापनसँग सम्बन्धित अध्ययन हो ।
हालका शिक्षा क्षेत्रका प्रमुख चुनौती के–के छन् ?
अहिलेका चुनौतीहरू अलिक फरक छन् । उदाहरणका लागि, विद्यार्थीका लागि उत्कृष्ट पाँचतारे होटलहरूमा इन्टर्नशिपको व्यवस्था गर्नु, नयाँ मुलुकहरूमा अवसर पत्ता लगाउनु, सञ्चार र नेतृत्व क्षमताको विकास गर्नु, र उनीहरूमा विकासमुखी सोच बनाउनु, यी सबै चुनौती हुन् । यिनै चुनौती समाधान गर्न हामी निरन्तर लागिरहेका छौं ।
सिन्धुली कलेजमा के–के पाठ्यक्रम छन् ?
हामीले एनइबी अन्तर्गत होटल म्यानेजमेन्ट, सामान्य व्यवस्थापन (कमर्स), र कम्प्युटर साइन्स पढाउँदै आएका छौं । साथै, छोटो अवधि, डिप्लोमा, र एडभान्स डिप्लोमा कोर्सहरू पनि छन् । दुई वर्षभित्र विद्यार्थीले पल्सटुको प्रमाणपत्रसँगै डिप्लोमा पनि प्राप्त गर्छन् । यसले उनीहरूलाई स्नातक तहमा अध्ययन गर्न मात्र होइन, विदेशमा राम्रो रोजगारीको अवसर पनि प्रदान गर्छ ।
अन्य कलेजभन्दा सिन्धुली कलेज किन विशेष छ ?
हाम्रो कलेजको प्रमुख विशेषता व्यवहारिक शिक्षा हो । विशेषगरी डिप्लोमा कोर्सको ७०–८० प्रतिशत
अंश व्यवहारिक हुन्छ । हामी इन्टर्नशिपमा पनि जोड दिन्छौं जहाँ विद्यार्थीले सम्मानजनक तलबसहित काम गर्छन् । त्यसपछि जापान, दुबई, कतार, मलेसिया, युरोपजस्ता मुलुकमा करिअर बनाउने अवसर उनीहरूले पाउँछन् ।
हालसम्म कलेजले के–के उपलब्धि हासिल गरिसकेको छ ?
हामी सयौं विद्यार्थीलाई व्यावसायिक शिक्षा दिन सफल भएका छौं । हाल ७०–८० प्रतिशत विद्यार्थी नेपाल वा विदेशमा रोजगारीमा छन् वा व्यवसाय गरिरहेका छन् । १० भन्दा बढी विद्यार्थी विदेशमा 'अर्न एन्ड लर्न'
मोडेलमा छन्, जहाँ उनीहरूले मासिक ४०–७० हजार रुपैयाँसम्म कमाउँदै स्नातक अध्ययन पनि गरिरहेका छन् ।
कलेजबाहिर तपाईंहरूको निकै चर्चा छ, यसको कारण के हो ?
हामी अनुशासनलाई आधुनिक रूपमा बुझ्छौं । कडा अनुशासन होइन, काउन्सिलिङ र आत्मप्रेरणाको माध्यमबाट आतिथ्य क्षेत्रमा अनुशासन, सफाइ र व्यवस्थित व्यवहार अत्यावश्यक हुन्छ । यसै कारण हामी व्यक्तित्व विकास र सामाजिक मर्यादामा पनि विशेष ध्यान दिन्छौं ।
हालको पठनपाठन र नतिजा कस्तो छ ?
सिन्धुलीका अनुभवी शिक्षकहरूको सहकार्यमा हाम्रा कक्षा मल्टिमिडिया, अडियो–भिडियो सामग्रीको प्रयोगमार्फत सञ्चालन हुन्छ । हाम्रो परीक्षाफल १००५ नै आएको छ, र हामी नतिजा मात्र होइन, सिकाइको गुणस्तरमा पनि नं. १ कलेजको रूपमा स्थापित भएका छौं ।
के कलेजको शाखा अन्यत्र पनि छ ?
हाल सिन्धुली माढी, रत्माटामा रहेको कलेजको कुनै शाखा छैन । सबै कक्षाहरू मुख्य कलेज भवनमै सञ्चालन हुँदै आएका छन् ।
पढाइपछि विद्यार्थीहरू के गर्न सक्छन् ?
हामीबाट पढेका विद्यार्थीहरूले होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म,बीबीए, बीबीएस, बीएससीआइटी लगायतका स्नातक तहमा पढ्न सक्छन् । रोजगारीका लागि होटल, रिसोर्ट, रेस्टुरेन्ट, बैंक्वेट, क्रुज, एयरलाइन्स, अस्पताल, इभेन्ट म्यानेजमेन्ट आदि क्षेत्रमा अवसरहरू उपलब्ध छन् । होटल म्यानेजमेन्ट पढेकाले व्यवस्थापन र आतिथ्य–दुवै क्षेत्रमा काम गर्न पाउँछन् ।
आगामी योजना के छन् ?
हामी कलेजलाई छिट्टै विश्वस्तरीय पूर्वाधारसहितको शैक्षिक संस्थामा रूपान्तरण गर्ने योजनामा छौं । पाँचतारे होटलको झल्को दिने प्रयोगशालासहितको भवन, अत्याधुनिक कक्षा कोठा, खेलमैदान, मनोपरामर्श सेवा, तथा राष्ट्रियस्तरका व्यक्तित्वबाट प्रेरणामूलक कार्यक्रम समावेश गर्ने योजनामा छौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामी तपाईंलाई व्यवहारिक शिक्षा दिन्छौं, चौतर्फी विकासमा जोड दिन्छौं, र तपाईंको करिअर बनाउने यात्रामा साथ दिन्छौं । दुई वर्षको पढाइ मात्र होइन, तपाईंको भविष्य सफल बनाउन हामी तपाईंसँग सधैं रहनेछौं । बजारका हल्लामा होइन, बुझेर निर्णय लिनुहोस्, भविष्य तपाईंको हो ।