काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि आइतबार सेयर बजारमा हरियाली छाएको छ । बैंक र लघुवित्त कम्पनीहरुको सेयरमा लगानीकर्ताको चासो देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ अंकले बढेर २७ सय ६० बिन्दुमा पुगेको छ । आज १५८ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ ।
आइतबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये सबैभन्दा धेरै कारोबार एनआईसी एशिया बैंकको भएको छ । एनआईसीको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, बुटवल पावर कम्पनीको ३२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २८ करोड, सानीमा बैंकको २५ करोड र सीइडीबी होल्डीङसको २४ करोड रुपैयाँको करोबार भएको छ ।
सबैभन्दा धेरै बैंकिङ समूह ३.३७ र लघुवित्त समूह ३.५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १.४७, वित्त १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ र म्युचुअल फन्ड १.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् ०.८३, लगानी ०.०८, निर्जीवन बीमा ०.३४, व्यापार ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ ।
आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, हिमालय हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।