क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो 'फ्याक्ट्री-इन-फ्याक्ट्री' मोडेलमा ब्याट्री उत्पादन

काठमाडौं । क्याटलले चीनको चोंगकिंगस्थित सेरेस सुपर कारखानामा कोश-देखि-प्याक प्रविधियुक्त दुईवटा अत्याधुनिक ब्याट्री प्याक उत्पादन लाइनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

यससँगै क्याटलले चोंगकिंगमा पहिलो उत्पादन केन्द्र स्थापना गरेको छ भने ‘कारखानाभित्र कारखाना’ (फ्याक्ट्री-इ-फ्याक्ट्री) सहकार्य मोडेल पनि पहिलोपटक प्रयोगमा ल्याएको छ ।

उक्त मोडेलले प्रमुख सामग्री आपूर्तिकर्ताहरूलाई सवारी उत्पादन स्थलमै सिधा समावेश गर्ने सुविधा दिन्छ । सेरेस कम्पनीका अनुसार यस प्रणालीले २० मिनेटभन्दा कम समयमा निर्देशन अनुसार उत्पादन लाइन अनुकूलन गर्न सक्नेछ र हजारौँ सामग्रीहरू दैनिक रूपमा आपूर्ति भई सोही दिनको उत्पादन प्रक्रियामा प्रयोग गर्न सकिनेछ ।

क्याटलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. रोबिन जेङले भने, 'यो उत्पादन लाइन अहिलेसम्मकै सबैभन्दा उन्नत, स्वचालित र डिजिटल प्रविधि प्रयोग गरिएको लाइन हो ।'

सेरेस र क्याटलबीचको रणनीतिक साझेदारी सन् २०२२ को अगस्टमा भएको सम्झौताबाट सुरु भएको हो । उक्त सम्झौता अनुसार, अबको पाँच वर्षसम्म ‘आइटो’ ब्रान्डका सबै सवारी साधनहरूमा क्याटलको ब्याट्री मात्र प्रयोग गरिनेछ । नयाँ आइटो मोडेलहरूमा क्याटलको ‘किलिन’ ब्याट्री पनि समावेश गरिने बताइएको छ ।

‘आइटो’ ब्रान्ड सेरेस र हुवावेबीचको सहकार्यमा बनेको हो, यद्यपि यो औपचारिक रूपमा संयुक्त लगानी भने होइन । २०२४ को जुलाईमा, सेरेसले हुवावेबाट आइटोको ट्रेडमार्क र पेटेन्टहरू २५ लाख युआन (झण्डै ३४.४ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो। हुवावे अझै पनि आइटो गाडीहरूका लागि मुख्य सामग्री तथा सफ्टवेयर आपूर्तिकर्ताको रूपमा सक्रिय छ र बिक्री सञ्जाल मार्फत आइटो सवारीहरूको बिक्री गरिरहेको छ ।

‘आइटो’ ले आफूलाई नयाँ पुस्ताको लक्जरी सवारी ब्रान्डको रूपमा चिनाउँदै आएको छ । हालसम्म आइटो ब्रान्डअन्तर्गत ७ लाखभन्दा बढी सवारी बिक्री भइसकेका छन् । चोंगकिंगस्थित सेरेस सुपर कारखाना आइटोको मुख्य उत्पादन केन्द्र हो ।

पावर ब्याट्री बजारमा क्याटलको पकड अझै बलियो देखिएको छ । चीन अटोमोटिभ पावर ब्याट्री उद्योग नवप्रवर्तन गठबन्धनका अनुसार, सन् २०२५ को जनवरीदेखि मे महिनासम्म चीनभर २४१.४ गिगाव्याट घण्टा ९न्ध्ज० पावर ब्याट्री प्रयोगमा आएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५०.४ प्रतिशतले वृद्धि हो । यद्यपि गत वर्षको तुलनामा क्याटलको बजार हिस्सा ३.८३ प्रतिशत अंकले घटेको देखिएको छ ।

पावर ब्याट्रीबाहेक, क्याटल र सेरेसबीचको सहकार्य शून्य-कार्बन लक्षित परियोजनासम्म पनि विस्तार भएको छ । सन् २०२५ को अप्रिलमा, दुबै कम्पनीले सेरेस सुपर कारखानामा ५० मेगाव्याट घण्टा क्षमताको सौर्य ऊर्जा परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेका छन् । यो ऊर्जा प्रणाली राष्ट्रिय ग्रिडमा जडान गरिएको छ र यसले कारखानालाई हरित ऊर्जा आपूर्ति गर्न मद्दत पुर्याउनेछ ।

Share News