विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेशलाई सकारात्मक पहलका रूपमा लिनुपर्ने बताएका छन् ।

शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीको सम्भावित राजनीतिक सक्रियतालाई स्वागतयोग्य बताएका हुन् । उनले भने, 'विद्या भण्डारीले वाम एकताको आवश्यकता महसुस गरेर एमालेमा फर्किने र नेतृत्व लिन चाहनुभएको हो भने यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।'

खनालका अनुसार वर्तमान समयमा नेपालको सबैभन्दा ठूलो वामपन्थी शक्ति नेकपा (एमाले) नै हो। तर, वाम शक्तिहरू विभाजित हुनुको मुख्य कारण पनि एमालेले नै एकताको पहल नगर्नु हो भन्ने उनले संकेत गरे । 'एमालेले चाहनु हो भने वाम शक्तिहरूबीच ठूलो मात्रामा एकता सम्भव छ,' खनालले भने ।

उनले वर्तमान राजनीतिक अवस्थालाई वाम आन्दोलनका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै थपे, 'एमाले नेतृत्व अहिले जुन किसिमको समस्याबाट गुज्रिरहेको छ, त्यसलाई विद्या भण्डारीले महसुस गर्दै एकता आवश्यकताका रूपमा राजनीतिमा फर्किने निर्णय लिनुभएको हो भने त्यो वाम आन्दोलनको हितमा हुनेछ ।'

खनालको यो अभिव्यक्ति पूर्वराष्ट्रपति भण्डारीको सम्भावित राजनीतिक सक्रियता र वामपन्थी एकताको बहसबीच आएको हो । भण्डारी २०७२ सालमा नेपालको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । हालसम्म उनी औपचारिक रूपमा कुनै दलमा फर्किएको घोषणा नभए पनि राजनीतिक वृत्तमा उनको सक्रियताबारे चर्चा तीव्र छ ।    

Share News