काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्सस् एलिभेट २०२५’ को तेस्रो संस्करणको घोषणा गरेको छ । असार ३२ देखि साउन ३ गतेसम्म चार दिन सञ्चालन हुने यो कार्यक्रम कलेजकै परिसरमा आयोजना हुनेछ ।
टेक एक्सस् एलिभेट २०२५ प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको उत्कृष्ट प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ । आयोजकहरूका अनुसार यसपटकको संस्करण अझ व्यापक, इनोभेटिभ र प्रेरणादायी बन्नेछ ।
प्रविधिको वास्तविक अभ्यासमा आधारित प्रोजेक्ट प्रदर्शनीमा करिब २० भन्दा बढी रोबोटिक्स र एआई परियोजनाहरू प्रस्तुत गरिने छन् । प्रमुख प्रोजेक्टहरूमा ‘करुणा’ (ज्ञानमा आधारित सहयोगी रोबोट), ‘मिरा’ (शिक्षा क्षेत्रमा प्रयोग हुने स्मार्ट इन्स्ट्रक्सनल रोबोट), ‘वारदोग’ (सुरक्षा निगरानी प्रणाली), ‘स्टडीसेन्स’ र ‘तोमात्रों’ (कृषिमा एआई प्रयोग) समावेश छन् । साथै, केम्लाब वीआर, फिसअवेर, सुरक्षित एभी स्ट्रिम, फ्लिप आरएफआईडी च्यालेन्ज जस्ता परियोजनाहरूले पनि कार्यक्रम समृद्ध बनाउनेछन् ।
स्टार्टअप उत्सवमा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेका २० वटा स्टार्टअपहरूले आफ्ना व्यवसायिक मोडेल, नवप्रवर्तन र सोच प्रस्तुत गर्ने छन् । यसले नेपालमा उद्यमशीलता कसरी अगाडि बढिरहेको छ भन्ने सन्देश दिनेछ ।
जब फेयर अन्तर्गत २५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहनेछ । दुई दिने यो रोजगार मेलामा सहभागीहरूले सयौं रोजगारी तथा इन्टर्नसिप अवसरमा पहुँच पाउनेछन् । स्नातकदेखि स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हुनेछ ।
उद्यमशीलता मास्टर कक्षा अन्तर्गत विद्यार्थीहरू व्यवसाय सुरु गर्ने अभ्यास, योजना बनाउने तरिका, लगानीकर्ता र मेन्टरहरूसँगको सिधा सम्पर्क र पिचिङ सेसनमा सहभागी हुने अवसर पाउनेछन् ।
इन्सपायर टक्स मा नेपालका सफल प्रविधिकर्मी तथा उद्यमीहरूद्वारा सञ्चालित प्रेरणादायी सत्रहरू सञ्चालन हुनेछन् । यी सत्रहरूले सहभागीलाई फरक सोच्न र नयाँ दिशा पहिल्याउन उत्प्रेरणा दिने विश्वास लिइएको छ ।
२ वर्षभन्दा लामो अभ्यास गरेका विद्यार्थी समूहहरूबीचको ‘आइरन क्ल्यास - फलामको महासंग्राम’ नामक प्रतिस्पर्धामा प्रविधिको प्रयोग र कार्यान्वयन देख्न पाइनेछ ।
कार्यक्रममा भविष्यका टेक लिडर, रोजगारी खोजिरहेका आईटी विद्यार्थीहरू, नवप्रवर्तनशील स्टार्टअप फाउन्डर, लगानीकर्ता, मेन्टर, मिडिया र इन्फ्लुएन्सरहरू समेत सहभागी हुने अपेक्षा गरिएको छ ।
सफ्टवारिका कलेजले टेक एक्सस् एलिभेट २०२५ लाई शिक्षा, इनोभेसन र प्रभावशाली सोचको साझेदारीका रूपमा प्रस्तुत गर्दै प्रविधिमा आधारित, प्रयोगात्मक र विश्वस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।