अब ९ लाख ५० हजार मूल्यमै विद्युतीय कार पाइने, एक लाखसम्मको नगद छुट

काठमाडौं ।  नेपाली बजारमा ९ लाख ५० हजार रूपैयाँ मूल्य पर्ने नयाँ इलेक्ट्रिक गाडी (ईभी ) किन्न पाइने भएको छ । हिमालयन ईभी प्रालिले एनयू ब्रान्डको ‘र्यापटर ’ नामक रेन्ज एक्सटेन्डर ईभी बजारमा किन्न पाइने जनाएको छ । 

कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले ग्राहकको मागलाई मध्येनजर गर्दै सस्तो कार नेपाल भित्र्याएको बताए । शेर्पाले भने, ‘हामीले यो ईभी चिनबाट ल्याएका हौं । याे हालसम्मकै सस्तो कार हाे, सबैले किन्न सक्ने मूल्य छ, यसमा बीमा छुट पनि दिएका छाैं,' उनले भने ।

चार ढोका र चार सिट भएको याे कारले दोस्रो पुस्ताको मन जित्ने अनुमान गरिएकाे छ । कम्पनीले सुरुवाती अफर अन्तर्गत ग्राहकहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट कुपन प्रदान गर्ने जनाएको छ ।

चीनको शानडोङमा निर्मित यस कारको लम्बाइ २९०० एमएम, चौडाइ १३८० एमएम र उचाइ १६५० एमएम छ । यसमा २००० एमएमको ह्वीलबेस र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ, कार नेपाली सडकका लागि उपयुक्त छ । 

null

ब्याट्री, मोटर र रेन्ज

कम्पनीका अनुसार यसमा १२.५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले १०० न्यूटन मिटरको टर्क उत्पादन गर्छ ।  गाडीमा ६ किलोवाट आवरको एलएफ ब्याट्री प्याक रहेको छ, जसले एक पटकको पूर्ण चार्जमा १२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यो ब्याट्री पूर्ण चार्ज हुन करिब ५ घण्टा लाग्छ ।

रेन्ज एक्सटेन्डर प्रविधि 

यस गाडीको सबैभन्दा विशेष पक्ष यसमा भएको रेन्ज एक्सटेन्डर प्रविधि हो । ब्याट्रीको चार्ज सकिएमा गाडीमै जडित जेनेरेटरले ब्याट्री चार्ज गर्छ । यो जेनेरेटर चलाउनका लागि ५ लिटर क्षमताको पेट्रोल ट्याङ्की दिइएको छ ।

चीनमा चर्चित यो प्रविधिलाई EREV (Extended Range Electric Vehicle) अर्थात् विस्तारित दायरा इलेक्ट्रिक वाहन भनिन्छ, जसले लामो यात्रामा चार्जिङको चिन्ता कम गर्छ।

null

अन्य सुविधाहरू

र्यापटरमा एयर कन्डिसन (AC), चारै चक्कामा डिस्क ब्रेक, इन्डिपेन्डेन्ट सस्पेन्सन, सेन्सरसहितको रिभर्स क्यामेरा, एलसीडी स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, रोटरी गियर सेलेक्टर र ’टु-वे ब्रेक लक सिस्टम’ जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन् ।

साथै, छतमा रहेको इलेक्ट्रिक भेन्टिलेसन फ्यान र पछाडिको टेलगेटमा राखिएको स्पेयर ह्वीलले यसको डिजाइनलाई थप आकर्षक बनाएको छ ।

वारेन्टी र शोरुम

हिमालयन ईभीले आफ्ना सबै ईभी मोडेलको मोटरमा २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ३० हजार किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी दिएको छ । कम्पनीको शोरुम काठमाडौंको उत्तरढोकामा रहेको छ ।

Share News