पूँजीबजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर छ : सन्तोषनारायण श्रेष्ठ

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर रहेको आफूले महशुस आफूले गरेको बताएका छन् । 

अर्थ समितिमा बिहीबार छलफलमा बोल्दै उनले पूँजीबजारको विस्तार अनुसार नियमन विगतमा नभएको र आफ्नो ६ महिनाको कार्यकालमा सुधार्ने कोशिस भएको बताएका हुन् । 

लेखा समितिको पत्र र पछिल्लो अर्थ समितिको निर्देशनले आईपीओ जारीमा थप अन्योलता सिर्जना भएको उनले बताए । श्रेष्ठले आगामी दिनमा कसरी अघि बढ्नेबारे समितिबाटै निर्देशन हुनुपर्ने बताए । श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेन्जका विषयमा चिन्तामणी शिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने चरण गइसकेको छ ।

उक्त प्रतिवेदनले नयाँ स्टक दिन उपयुक्त हुने बताइएको छ । भइरहेको नेप्सेलाई पुनः संरचना गर्न भनिएको छ । पुरानोलाई कसरी लैजाने भन्नेबारे गृहकार्य भइरहेको उनले जानकारी दिए ।

उनले भने–‘पूँजीबजारको जति छिटो विकास भइरहेको छ तर धितोपत्र बोर्डले त्यो अनुरुप नियमन गर्न सकेको छैन । कुनैपनि अर्थतन्त्रमा मनी मार्केट र क्यापिटल मार्केट हो । हाम्रो मार्केटमा मनी मार्केटमा दबदबा छ । विस्तारै घटाएर लैजानुपर्छ ।’

श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेञ्ज दिन कुनै रोकतोक छैन । अहिले तीन वटा प्रस्ताव आइसकेको छ । आएका तीन वटा प्रस्तावमाथि मूल्यांकन गरेर प्रक्रिया अघि बढाइनेछ । श्रेष्ठकाअनुसार धितोपत्रमा उत्पादनमुलक कम्पनी, राम्रा कम्पनीलाई बजारमा ल्याउन प्रिमियम जोडिने गरेको छ । 

अप्ठ्याराहरूलाई हटाउँदै सन्तुलित हिसावले अघि बढ्नुपर्छ । पूँजीबजार औजारहरु प्रोमोट गर्दै डिबेन्चर, बोनसहरुलाई अघि बढाउने श्रेष्ठले बताए । धतोपत्र ऐन र नीति तथा कार्यक्रममा पनि नयाँ औजारहरूलाई अघि बढाउनेबारे सम्बोधन गर्ने उनको भनाई छ । 

Share News