काठमाडौं । उपभोक्तालाई सस्तो, सहज र डिजिटल माध्यमबाट हवाई टिकट र भ्रमण प्याकेज उपलब्ध गराउने लक्ष्यसहित 'जिओ फ्लाईट' नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा आएको छ । जोय ग्रुपले प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यले यो प्लेटफर्म सार्वजनिक गरेको हो ।
एन्ड्रोइड र आइओएस दुवै संस्करणमा उपलब्ध रहेको 'जिओ फ्लाईट' मोबाइल एप तथा वेबसाइटमार्फत देशभित्र र बाहिरका हवाई टिकट सहजै खरिद गर्न सकिने सुविधा रहेको छ । साथै, प्रयोगकर्ताले धार्मिक, पारिवारिक, व्यवसायिक तथा व्यक्तिगत भ्रमण प्याकेज पनि एप वा वेबसाइटमार्फतै छनोट र खरिद गर्न सक्नेछन् ।
जिओ फ्लाईटका प्रबन्ध निर्देशक रमेश पौडेलका अनुसार यो एपले अन्य प्लेटफर्मभन्दा फरक र प्रयोगमैत्री अनुभव दिनेछ ।
'अहिलेसम्म अधिकांश प्लेटफर्मबाट हवाई टिकट मात्र खरिद गर्न सकिन्थ्यो । तर, हाम्रो एपबाट सम्पूर्ण जानकारी प्राप्त गर्दै, सस्तो मूल्यमा टिकट तथा प्याकेजहरू उपलब्ध हुन्छन्,' पौडेलले भने ।
उनका अनुसार एपमार्फत उपलब्ध सेवाले प्रयोगकर्ता र सेवा प्रदायकबीचको दूरी कम गर्नेछ, र सम्पर्कमा आउने झन्झट हटाउनेछ ।
जिओ फ्लाईटमार्फत नयाँ व्यवसाय सुरू गर्ने, पर्यटन व्यवस्थापनसम्बन्धी जानकारी लिने र परामर्श प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ । यसले नेपालको पर्यटन क्षेत्रलाई प्रविधिसँग जोड्दै, थप उचाइमा पुर्याउन सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।