काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितताको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको इन्जिनियरिङ अध्ययन संस्थान (इअस) इकाइहरू, प्राध्यापकका वैचारिक सङ्घ/सङ्गठनहरू र इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका सम्पूर्ण एकाइहरू त्रिभुवन विश्वविद्यालयको हस्तक्षेपका कारण प्रशासनिक, वित्तीय र अनुसन्धानात्मक स्वायत्तता गुमेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
प्रा डा सङ्गीता सिंहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हस्तक्षेपको विरोध गर्दै स्वायत्तता सुनिश्चित गरौँ भन्ने मागसहित यही असार १९ गतेदेखि आफूहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिए ।
‘विगत केही दिनदेखि आन्दोलनमा छौँ, स्वायत्तता सुनिश्चित गरौँ भन्ने महत्वपूर्ण माग हो । केन्द्रीय हस्तक्षेप हस्तक्षेप खारेज हुनुपर्छ, विश्वव्यापीकरणको समयमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई ध्यान दिनुपर्छ भन्नेमा हाम्रो जोड छ,’ उनले भने ।
सिभिल इन्जिनियर विभागका प्राध्यापक रोशन कार्कीले नेपाल सरकारले प्राविधिक जनशक्ति उत्पादनका लागि स्थापना गरेको अध्ययन संस्थानमाथि विश्वविद्यालयबाट हस्तक्षेप हुँदा ‘रिसर्च एन्ड डेभलपमेन्ट’ गतिविधि प्रभावित भएको बताए ।
‘यो आन्दोलन इन्जिनियरिङ संस्थानको हकहित र सुधारका लागि गरिएको एकीकृत प्रयास हो । विगतमा संस्थानलाई दक्ष प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले स्वायत्ततासहित आम्दानी गरेर सञ्चालन गर्न दिइएको थियो, तर २०८० सालको सिनेटले निर्णय गरेर स्वायत्तता खोसेको छ, यो आपत्तिजनक छ,’ उनले भने ।
प्रा डा सुदीप भट्टराईले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाँच वटै आङ्गिक क्याम्पसलाई स्वायत्तता दिइनुपर्ने मागसहित ५४ जना प्राध्यापकले विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारीबाट राजीनामा दिएको बताए । प्राध्यापक सङ्घले आयोजना गरेको कार्यक्रममा वैचारिक सङ्गठनहरुको ऐक्यबद्धता रहेको उनकाे भनाइ छ ।
प्राध्यापक सङ्घ थापाथली क्याम्पस एकाइ समितिका सभापति डा श्री हरि थापाले व्यक्तिगत अपेक्षाभन्दा पनि संस्थाको स्वायत्तता र हितका लागि आन्दोलन गरिएको बताए ।
प्राध्यापकहरूले उपकुलपति समक्ष कर्मचारी प्रमुख मार्फत ध्यानाकर्षणसहितको माग पत्र बुझाएर आन्दोलन सुरु गरेको बताएका छन् । मागहरू पूरा नभएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरू (पठनपाठन, परीक्षा आदि) बन्द गर्ने निर्णयसहित आन्दोलन भइरहेको प्राध्यापक कार्कीले बताए ।